कोहलपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी बाँकेको आयोजनामा राष्ट्रियता र लोकतन्त्र विषयक जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता यही माघ २९ गते आयोजना हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरि जनाएको छ।
राष्ट्रियता र लोकतन्त्रप्रति युवापुस्तामा चेतना, बहस तथा जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अनेरास्ववियु बाकेका अध्यक्ष प्रकाश बिश्वकर्माले जानकारी दिए । युवालाई विचार, अभिव्यक्ति तथा वैचारिक बहसको सशक्त मञ्च प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
२५ वर्षमुनिका युवा विद्यार्थीहरूको सक्रिय सहभागिता रहने प्रतियोगितामा राष्ट्रियता र लोकतन्त्रसम्बन्धी विषयमा वक्तृत्व प्रस्तुत गर्नुपर्नेछ। प्रतियोगितामा प्रथम हुनेले नगद रु १० हजार, दोस्रोले रु ६ हजार, तेस्रोले रु ५ हजार, चौथोले रु ४ हजार, पाँचौँले रु ३ हजार तथा छैठौँ हुनेले रु २ हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रतियोगितामा सहभागी सबैलाई नगद रु २५० सहित प्रमाणपत्र प्रदान गरिनेछ।
वक्तृत्वकलाको निष्पक्ष तथा प्रभावकारी मूल्यांकनका लागि हरि तिमिल्सिना, ज्ञानेन्द्र शाही, पुष्कर रिजाल, चिरञ्जीवी सुवेदी, सारदा प्रसाद कोइराला, सागर गैरे तथा अन्जु खड्कासहितको विज्ञ निर्णायक मण्डल गठन गरिएको छ।
हालसम्म ८० जनाभन्दा बढी सहभागीहरूले नाम दर्ता गराइसकेका छन्।






