२ फाल्गुन २०८२, शनिबार
जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • टाइम्स संवाददाता

  • ३० माघ २०८२, बिहीबार २१:३९

अनेरास्ववियु जिल्ला कमिटी बाँकेको आयोजनामा राष्ट्रियता र लोकतन्त्र विषयक जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगिता बिहिबार कोहलपुरमा सम्पन्न भएको छ।

युवापुस्तामा राष्ट्रियता र लोकतन्त्रप्रति चेतना अभिवृद्धि गर्ने तथा वैचारिक बहसको सशक्त मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा २५ वर्षमुनिका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्य ढकालले विजेता तथा सहभागीहरूलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए।

सो अवसरमा बोल्दै उम्मेदवार ढकालले युवापुस्ताको सक्रियता, वैचारिक स्पष्टता र राष्ट्रप्रतिको जिम्मेवारीबोधले मात्रै देशको भविष्य सुदृढ बन्ने बताएका थिए।

प्रतियोगितामा महेश्वर उपाध्याय प्रथम हुन सफल भए भने इशानी शर्मा दोस्रो र नवीन खत्री तेस्रो स्थान हासिल गर्न सफल भए।
त्यसैगरी मिसन थारु चौथो, आकृति फुयाल पाँचौँ, आकृति सिंह ठकुरी छैटौँ तथा खिमा पौडेल सातौँ स्थानमा रहे।

प्रतियोगितामा प्रथम रु १० हजार, दोस्रो रु ६ हजार, तेस्रो रु ५ हजार, चौथो रु ४ हजार, पाँचौँ रु ३ हजार तथा छैटौँ हुनेले रु २ हजार पुरस्कार प्राप्त गरे।

वक्तृत्वकलाको निष्पक्ष तथा प्रभावकारी मूल्यांकनका लागि हरि तिमिल्सिना, ज्ञानेन्द्र शाही, पुष्कर रिजाल, चिरञ्जीवी सुवेदी, सारदा प्रसाद कोइराला, सागर गैरे तथा अन्जु खड्कासहितको विज्ञ निर्णायक मण्डल रहेको थियो।

Nabintech