२ फाल्गुन २०८२, शनिबार
उम्मेदवारलाई कांग्रेसको निर्देशन- आर्थिक सहयोगका लागि व्यवसायीलाई दबाब नदिनू, फजुल खर्च नगर्नू

चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउनैपर्ने


  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०८२, शुक्रबार १३:२२

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका उम्मेदवारलाई चुनावी खर्चका लागि कुनै व्यवसायीलाई दबाब नदिन निर्देशन दिएको छ। ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका- ०८२’ सम्बन्धी ३४ बुँदे परिपत्र जारी गर्दै प्रचार अभियान अघि बढाउन जरुरी आर्थिक व्यवस्थापन गरिरहँदा स्वतःस्फूर्त सहयोगलाई स्वीकार गर्न भनेको छ।

परिपत्रमा भनिएको छ, ‘प्रचार अभियान अघि बढाउन जरुरी आर्थिक व्यवस्थापन गरिरहँदा स्वतःस्फूर्त सहयोगलाई स्वीकार गर्ने तर कुनै पनि ठुला साना व्यवसायीलाई देशभर कहीँ पनि दबाब नदिने । ‘साझा दायित्वरसाझा स्वामित्व’ बोधका साथ पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्ने, फजुल खर्च नगर्ने र चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउने ।’

पूर्व शिक्षक, पूर्व सैनिक, पूर्व प्रहरी, पूर्व कर्मचारी लगायत अवकाश प्राप्त सबैको पछिल्लो जीवनलाई ऊर्जाशील बनाएर समाजका लागि सही उपयोगमा ल्याउन जरुरी रहेको भन्दै निर्वाचन प्रचार अभियानका क्रममा देशव्यापी रूपमा यो नेटवर्कलाई व्यापक सम्पर्कमा ल्याउन, जिम्मेवारीमा समेट्न र पार्टीको विजय अभियानमा सक्रिय बनाउन हरेक निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरूले निश्चित संयन्त्र बनाएर काम गर्न निर्देशन दिएको छ।

परिपत्रमा भनिएको छ, ‘केही वर्ष विदेशमा बिताएर गाउँ फर्किएका हजारौँ नेपाली युवा गाउँहरूमा छन् । अध्ययन, काम या व्यवसायबाट फर्किएकाहरूको गाउँ समाजमा आ(आफ्नै डङ्गको सम्पर्क र प्रभाव छ । विगतमा पार्टीले निर्माण गरेको पूर्व आप्रवासी विभाग मार्फतको कार्ययोजना बमोजिम पार्टीका स्थानीय नेटवर्क सम्पर्क, समन्वय र परिचालनमा पुग्नेछ, पुग्नुपर्नेछ ।’

दलभित्र काम गर्ने क्रममा भएका आपसी असमझदारी उत्पन्न हुनसक्ने भएपनि विमतिका सबै कुरा बिर्सिएर सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भएर चुनावमा लाग्न आह्वान गरेको छ। ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ का रूपमा अघि आएको तथ्य मतदाता समक्ष राखेर मतदाताको नवीन विश्वास गाँस्न प्रभावकारी अभियान अघि बढाउन समेत निर्देशन दिएको छ।

सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको जानकारी समेत गराएको छ। पार्टीको प्रतिज्ञा पत्रको ‘भिजन १०’ दृष्टि, दायित्व र गन्तव्य भएको भन्दै त्यसमा केन्द्रित हुन निर्देशन समेत दिएको छ।

Nabintech