काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी अभियानका लागि लावाङ पुगेर पार्टीका तत्कालीन नेता बाबुराम भट्टराईलाई कारबाही गरेको बैठकको स्मरण गरेका छन्। जनयुद्ध दिवसका अवसर पारेर प्रचण्ड आज लावाङ पुगेका छन्।
उनले लावाङ पुगेर भने, ‘आज जनयुद्ध दिवस हो। जनयुद्ध हामीले सुरु गरेको २० वर्ष पूरा भएर २१ वर्ष लागेको छ आजदेखि। यस्तो ऐतिहासिक दिनमा, लावाङ जस्तो ऐतिहासिक गाउँ, जहाँ हामी धेरै महत्त्वपूर्ण बैठक तपाईँहरूकै काखमा बसेका थियौँ। तपाईँहरूकै सुरक्षामा। तपाईँहरूले नै हामीलाई कुनै असुविधा हुन नदिने गरी खुवाउने, प्याउने, बस्ने सबै व्यवस्था गर्नुभएको थियो। म ती दिनहरूलाई अहिले ताजा रूपमा सम्झिराखेको छु। लावाङप्रति जहिले पनि हामी ऋणी छौँ।’
लावाङले जनयुद्धको तयारी, जनयुद्धको उठानदेखि सबै काममा सहयोग गरेको स्मरण गरे।
उनले थपे, ‘साँच्चै नै यो गाउँ र हाम्रो पार्टी, जनयुद्ध र अहिलेको गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बीचमा गहिरो सम्बन्ध छ। यो गाउँमा तपाईँहरूको काखमा हामीले बैठक बस्दै गर्दा २१ वर्ष अगाडि परिस्थिति अर्कै थियो। यहाँ हामी बैठक बसिराखेका थियौँ, एकातिर पार्टीभित्र समस्या भएको हुनाले केही नेता साथीहरूले पार्टी अनुशासन, विधि, पद्धति तोडेर बाहिर प्रतिक्रियावादीलाई खुसी बनाउने खालका समाचार लेखे बापत हामीले कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएर यही ऐतिहासिक गाउँमा बसेर पार्टीलाई शुद्ध पार्न, गलत प्रवृत्तिबाट पार्टी बचाउनको लागि हामीले त्यतिबेलाका एकजना वरिष्ठ नेता कमरेड बाबुराम भट्टराईलाई कारबाही गर्नु परेको थियो, हामीले कारबाही गरेका थियौँ।’
उनले विगतलाई नै सम्झिएर अहिले आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताए।
उनले थपे, ‘म यहाँ उम्मेदवार भएर फेरि तपाईँहरूसँग, तपाईँहरूको घरदैलोमै, गाउँहरूमा, ऐतिहासिक गाउँमा हामी भरे चुनवाङमा पनि जाँदै छौँ। चुनवाङ पनि एउटा ऐतिहासिक गाउँ हो हाम्रो लागि। त्यहाँ पनि हामी जाँदै छौँ र त्यहाँको जनतासँग पनि हामी प्रत्यक्ष यसरी नै भेटघाट गर्नेछौँ र अन्यत्र पनि। रुकुम, रोल्पा, जाजरकोट, सल्यान जस्ता त्यतिबेलाका केन्द्रीय आधार इलाकाका प्रत्येक गाउँमा, प्रत्येक पहाडमा जनयुद्धका इतिहासका ठूल–ठूला कीर्तिमान लुकेका छन्।’
देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर नै महिलाले, दलितले, आदिवासीले, थारुले, मुस्लिमहरूको पनि राज्यमा प्रतिनिधित्व भएको जिकिर गरे।






