२५ चैत्र २०८२, बुधबार
बाँके २ मा एमाले उम्मेदवार राईको प्रतिबद्धता–पत्र सार्वजनिक

  • टाइम्स संवाददाता

  • ५ फाल्गुन २०८२, मंगलवार ०७:२२

बाँके । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सोमबार नेपालगञ्ज आयोजित एक कार्यक्रमका बीच राईले ‘समृद्ध नेपालगञ्ज(डुडुवा)हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

राईले पूर्वाधार तथा सहरी विकास, औद्यागिक, ब्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास र व्यवस्थित बसोबास केन्द्रित बुँदागत प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

उनले नीतिगत सुधार सम्बन्धि प्रतिबद्धता समेत उल्लेख गरेका छन् । जसमा गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी ब्यवस्थापन र आर्थिक अवसर तथा लागूऔषध नियन्त्रण र सुरक्षित समाज निर्माण गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।

उनले नेपालगञ्जलाई शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योगको हब बनाएर चलायमान सहरका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । आफूले विगतमा सांसद र मन्त्रीको भूमिकामा रहँदा विकास निर्माणका काम गरेर देखाएको स्मरण गराउँदै उनले फेरि पनि जनताबाट अनुमोदित भएर नेपालगञ्ज डुडुवाको समृद्धिका लागि काम गर्ने बताए ।

 

समृद्ध नेपालगन्ज-डुडुवा, हाम्रो प्रतिबद्धता

मोहम्मद इश्तियाक राई

उम्मेदवार, प्रतिनिधिसभा सदस्य

नेकपा एमाले

दिगो विकास, सुशासन, रोजगारी सृजना र सामाजिक न्याय केन्द्रित हाम्रो प्रतिबद्धता

नेपालगन्ज-डुडुवाको सुरक्षित, समृद्ध र सुखद अवसरयुक्त भविष्य निर्माणको मार्गचित्र हो।

उम्मेदवारको सन्देश

समुदायगत विविधता निर्वाचन क्षेत्र नं २ बाँकेको महत्वपूर्ण परिचय हो। विविधताभित्र निहित एकताको भाव अनि खुसहाल जीवनको चाहले नै हामीलाई आपसमा बाँधेको छ। यही भाव र चाहलाई एकाकार गर्दै नीतिगत सुधारसहित नेपालगन्ज र डुडुवामा विकास निर्माणको काममा रफ्तार बढाउनु हाम्रो प्राथमिकता हो। यो प्राथमिकतालाई कार्यान्वयन गर्दै आफ्नो समृद्धिको यात्रामा अघि बढ्न तत्पर छन् नेपालगन्ज र डुडुवा। यहाँको राजनीति सशक्त र राजनीतिज्ञ प्रभावशाली हुँदामात्र समृद्धिको यात्रा सहज हुन्छ। हाम्रो सुदृढ राजनीतिक वर्चस्व, सामाजिक-आर्थिक बदलाव, पूर्वाधार विकास, कानुन र नीति-नियम निर्माण तथा त्यसको पालनामा हामी सदैव प्रतिबद्ध रहँदै आएका छौं। केन्द्रीय राजनीति र सत्तामा यहाँका राजनीतिज्ञको प्रभाव र पहुँच भएका बखत प्राप्त उपलब्धि हाम्रा लागि शिक्षा हुन्। जसको मनन् गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हामी नेपालगन्ज र डुडुवासीले विवेकपूर्ण निर्णय लिने नै छौं।

सद्भाव र सहिष्णुता हाम्रा पहिचान हुन्। फरक पुस्ताबीच स्नेह र सम्मान हाम्रा संस्कार हुन्। तर यतिबेला फरक सम्प्रदायका बीचमा फाटो ल्याउने र अन्तरपुस्ता द्वन्द्व बढाउने षड्यन्त्रमुलक गतिविधिहरू हावी हुन खोजिरहेको अवस्था छ। मुख्यगरी विद्यमान शासन व्यवस्थाका विरोधी र राष्ट्रिय स्वाधीनता कमजोर पार्न उद्धत रहेकाहरू यस्तो षड्यन्त्रमा संलग्न छन्। उनीहरूको उद्देश्य साम्प्रदायिकता र अन्तरपुस्ता द्वन्द्व बढाउने तथा राष्ट्रियता कमजोर पार्ने हो भन्नेमा अब कुनै द्विविधा रहेन। अतस् यो निर्वाचन भनेको साम्प्रदायिक द्वन्द्व र ध्वंस मच्चाउन चाहनेहरू तथा राष्ट्रियता र विकास निर्माणको प्रबर्द्धन चाहनेहरू बीचको लडाइँ पनि हो। यो महत्वपूर्ण घडिमा तपाइँहरूले अन्तरआत्माको आवाज सुनेर उपयुक्त निर्णय लिनुहुनेमा हामी निश्चिन्त छौं।

विकास र सद्भाव विथोल्ने कयौं षड्यन्त्रहरू नाकाम पार्दै हामी अहिलेको अवस्थासम्म आइपुगेका हौं। यस्ता षड्यन्त्रहरू नाकाम बनाउने सवालमा बाँके क्षेत्र नं २ ले उदाहरणीय इतिहास रच्दै आएको छ। जुन इतिहास आउँदो फागुन २१ गतेको निर्वाचनमार्फत पनि हामीले पुनस्रचना गर्नुछ। विकास, एकता र सद्भावको मूल मन्त्र आत्मसात गर्दै समावेशी विकासको अवधारणा अनुसार निर्वाचन क्षेत्र नं २ बाँकेलाई समृद्ध र खुसहाल बनाउन हामी प्रतिबद्ध छौं।

विकास निर्माण र समृद्धि केन्द्रित प्रतिबद्धता

पूर्वाधार तथा सहरी विकास

आधुनिक क्रिकेट स्टेडियम निर्माण गरी क्रिकेटको केन्द्रका रूपमा नेपालगन्जलाई पुनर्पहिचान दिइनेछ।

नेपालगन्ज रङ्गशालामा फुटबल लगायत अन्य खेलहरूमा सुविधा थप्दै नेपालगन्जलाई खेलकुद हव बनाउन पहल गरिनेछ।

नेपालगन्ज-नयाँ दिल्ली सीधा हवाई उडान संचालनार्थ संरचनागत विकास एवम् कुटनीतिक पहल गरिनेछ।

नेपालगन्ज चक्रपथ (रिङरोड) आयोजना कार्यान्वयन गर्दै नेपालगन्जभित्र समेटिएका साविकका गाविसहरू समेटिने बृहत्त चक्रपथको योजना अघि बढाइनेछ।

नेपालगन्जका आवश्यकता देखिएका स्थानमा (शिलान्यास भइसकेका स्थानमा) आकाशे पुल निर्माण गरिनेछ।

कम्तिमा एउटा आधुनिक सुविधासम्पन्न पार्क निर्माण गरी नमूना रमणीय स्थलकारूपमा विकास गरिनेछ।

बाढी र डुबान नियन्त्रण गर्न राप्ती नदी डुडुवा १, २ नं वडा चौफेरी र पाझामा तथा डुडुवा खोलाका आवश्यक ठाउँहरूमा तटबन्ध निर्माण गरिनेछ।

सिक्टा सिँचाई आयोजनालाई आगामी ५ वर्षभित्र सम्पन्न गरी नहर विस्तार गर्दै क्षेत्र नं २ मा समेत सिँचाई पुर्‍याइनेछ।

राप्ती नदीको पानी नेपालगन्जसम्म पुर्‍याई गाउँघरसम्म सुद्ध पिउने पानीको पहुँच सुनिश्चित गर्न पहल गरिनेछ।

सहरी क्षेत्रका खाली जमिनमा विरूवा रोपेर पर्यावरणीय सुधार गरिनेछ।

वेतहनी-होलिया-चौफेरी-नरैनापुर जोड्ने सडक र आवश्यकताअनुसार पुलहरू निर्माण गरिनेछ।

नेपालगन्ज र डुडुवा क्षेत्रभित्र प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा सडक विस्तार गरिनेछ।

उद्योग-कारखाना तथा आम उपभोक्ताले भोग्दै आएको विद्युत समस्याको दिगो समाधान खोजिनेछ।

भौतिक मन्त्री हुँदा प्रक्रिया थालेको, तर हाल रोकिएको नेपालगन्ज-नरैनापुर-दाङ जोड्ने सडक निर्माणको पहल गरिनेछ।

सहरी विकासलाई योजनाबद्ध रूपमा अघि बढाउन पहल गरिनेछ।

 

औधोगिक, व्यापारिक र रोजगारी विकास

नौबस्ता औद्योगिक क्षेत्रलाई ५ वर्षभित्रमा निर्माण पूरा गरी पूर्णरूपमा संचालनमा ल्याउन पहल गरिनेछ।

कुटनीतिमार्फत आइसीपी (एकीकृत भन्सार जाँच चौकी) लाई सुख्खा बन्दरगाहका रूपमा विकास गर्न पहल गरिनेछ।

युवा जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी सृजना गर्न उपयुक्त संरचनाहरू निर्माणमा जोड दिइनेछ।

विदेशबाट फर्किएका ९रिटर्नीहरू०लाई उनीहरूको सीप अनुसार रोजगारी उपलब्ध गराउने वातावरण बनाइनेछ र स्वरोजगारीका लागि सहुलियत ऋण उपलब्ध गराउन पहल गरिनेछ।

कृषि उत्पादनका लागि व्यवस्थित बजार संरचना बनाउँदै बजारीकरणका अन्य प्रभावकारी उपायहरू अबलम्बन गरिनुका साथै कृषि क्षेत्रमा हालको विधुत महसुलमा थप सहुलियत सुनिश्चित गर्न पहल गरिनेछ।

 

शैक्षिक विकास

नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक (सरकारी) विद्यालयहरूमा सुविधासम्पन्न भवन र डिजिटल शिक्षण प्रणालीसहित स्तरोन्नति गरिनेछ।

महेन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार विकास गरिनुका साथै क्याम्पसको नाममा रहेको जमिनको उच्चतम सदुपयोगका लागि विस्तृत योजना अघि बढाइनेछ।

महेन्द्र बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय विश्वविद्यालयका रूपमा विकास गरिनेछ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको काम सम्पन्न गरी अत्याधुनिक भवनबाट शैक्षिक र प्रशासनिक कार्य सम्पादन गराउन पहल गरिनेछ।

ऐनमार्फत सामुदायिक विद्यालयमा एक जना स्वास्थ्य कर्मचारी अनिवार्य राख्ने व्यवस्था गर्न पहल गरिनेछ।

‘‘शिक्षित समाज, समृद्ध राष्ट्र’’ नारालाई आत्मसात गर्दै सामुदायिक विद्यालयका शिक्षकहरूको वृत्ति विकासमा जोड दिइनेछ।

निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा प्रदान गर्नेगरी सामुदायिक (सरकारी) विद्यालयको स्तर उकास्ने नीति बनाइनेछ।

सामुदायिक शिक्षकलाई मासिकरूपमा तलब भत्ता उपलब्ध गराउने नीतिगत निर्णय गराउन पहल गरिनेछ।

शिक्षकहरूलाई समेत स्थानीय भत्ताको व्यवस्था गरी राहत, करार, बालविकास लगायत सबै प्रकारका शिक्षकहरूलाई सामाजिक सुरक्षा कोष कार्यक्रममा समावेश गर्न पहल गरिनेछ।

भेरी प्राविधिक शिक्षालयलाइ समय सापेक्ष स्तरोन्नति गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादन गर्न सक्षम बनाइनेछ।

महेन्द्र पुस्तकालयका लागि नयाँ संरचनासहित अध्ययनको वातावरण सहज र सुविधायुक्त बनाउन प्राविधिक पक्षमा सुधार गरिनेछ।

स्वास्थ्य क्षेत्रको विकास

भेरी अस्पतालमा चिकित्सक र अन्य प्राविधिक जनशक्तिको दरबन्दी थप गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइनेछ।

स्वास्थ्य बीमालाई थप सहज र प्रभावकारी बनाइनेछ।

डुडुवा लगायतका पालिकास्तरमा रहेका १५ शय्याका अस्पताल र स्वास्थ्य चौकीहरूलाई आधुनिक सुविधायुक्त बनाउँदै मटर्निटी (प्रसुति) सेवा लगायतका सुविधा उपलब्ध गराउन पहल गरिनेछ।

भेरी अस्पतालमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको कक्षा संचालन गर्दै स्थानीय विद्यार्थीलाई निश्चित छात्रवृत्ति उपलब्ध गराउने नीति बनाउन पहल गरिनेछ।

सबै स्वास्थ्य संस्थामा जनशक्तिको यथोचित व्यवस्था गर्न पहल गरिनेछ।

‘कोही रोगी हुनु नपरोस्, उपचार नपाएर कोही मर्नु नपरोस्’ नारा आत्मसात गर्दै भेरी अस्पतालमा न्यूरो र मुटुसम्बन्धी विरामीको उपचारार्थ विशेष व्यवस्था गरिनेछ।

गम्भीर चोटपटक लागेका घाइतेहरूको उपचारका लागि ट्रमा सेन्टर संचालन गरिनेछ।

भेरी अस्पतालका लागि यसअघि सवा ३ अर्वको कार्ययोजना स्वीकृत भई २५ करोड रूपैयाँ विनियोजन समेत भइसकेको अवस्थामा रोकिएको काम अघि बढाइनेछ।

भेरी अस्पतालमा अत्याधुनिक र व्यवस्थित मर्चरी चेम्बर ९शव राख्ने० सेवा सुदृढ गरिनुका साथै व्यवस्थित पोस्टमार्टमका लागि संरचनागत सुधार गरिनेछ।

सहरी स्वास्थ्य क्लिनिकलाई व्यवस्थित गर्दै स्तरोन्नति गरिनेछ।

शुशील कोइराला क्यान्सर अस्पतालको सेवामा स्तरोन्नति र पूर्वाधार विकास गरिनेछ।

 

कृषि तथा अनुसन्धान

खजुरास्थित कृषि अनुसन्धान केन्द्रको सुदृढीकरण गर्दै राष्ट्रिय कृषि अनुसन्धान प्रबर्द्धन एकेडेमीका रूपमा विकसित गरिनेछ।

कृषकहरूका लागि मलखाद, बीउ र सिंचाइसहित आधुनिक कृषि औजार तथा प्रविधिको पर्याप्त व्यवस्था सुनिश्चित गरिनेछ।

व्यवसायिक कृषिलाई बढावा दिन स्थानीय उत्पादनको बजार सुनिश्चित गर्दै भण्डार गर्ने व्यवस्था समेत गरिनेछ।

 

सामाजिक सुरक्षा

औपचारिकरअनौपचारिक क्षेत्रका सबै मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गरी बीमा, पेन्सन, स्वास्थ्योपचार, सहुलियतपूर्ण ऋण लगायतका सुविधा उपलब्ध गराउन पहल गरिनेछ।

सामाजिक सुरक्षामा समावेश नभइसकेका मजदुरहरूको सुरक्षाको जिम्मेवारी र दायित्व काममा लगाउने व्यक्तिकै हुने सुनिश्चितता प्रदान गर्न पहल गरिनेछ।

जेष्ठ नागरिकहरूलाई भेटघाट, जमघट र विचरण गर्नका लागि भौतिक संरचनासहित पुष्प बाटिका निर्माण गरिनेछ।

 

धर्म-संस्कृति संरक्षण

बागेश्वरी, गोबर्धनधाम, सन्तानेश्वर, वर्फानी बाबा, कम्मरसा बाबा लगायत सबै धार्मिक आस्थाका केन्द्रहरूको प्रचार-प्रसारमार्फत धार्मिक पर्यटन तथा सद्भाव प्रबर्द्धन गरिनेछ।

धार्मिक शिक्षा, कला, साहित्य, मौलिक संस्कृति र सम्पदाको संरक्षण तथा प्रबर्द्धन गरिनेछ।

राप्ती नदी सिधनिया घाटमा निर्माण गर्न लागिएको बैकुण्ठधाम सिधनिया घाटलाई पूर्णता दिइनेछ।

नेपालगन्ज र डुडुवामा शिक्षा, स्वास्थ्य र सामाजिक लगायत विविध क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका व्यक्तित्व, विभिन्न कालखण्डका शहीदहरू तथा राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वको सम्मानार्थ संरचनाहरू निर्माण गरिनेछ।

राष्ट्रिय विभूति शंखधर साख्वा बहुआयामिक पार्क निर्माणको पहल गरिनेछ।

पर्यटन विकास

पर्यटन प्रबर्द्धनका लागि आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नेपालगन्जमा पुनस् नाथम कलेज संचालनार्थ ठोस पहल गरिनेछ।

पर्यटन प्रहरीको व्यवस्थापन गरी सुरक्षित पर्यटन वातावरणको सृजना गरिनेछ।

स्थल मार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकहरूले विभिन्न जाँचका नाममा ब्यहोर्नुपर्ने झन्झट अन्त्य गरिनेछ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढाउन पर्यटकीय सेवा विस्तार गरिनेछ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै हुम्लाको हिल्सासम्म पर्यटन प्रबर्द्धन हेतु सडकमार्ग विस्तार गर्न पहल गरिनेछ।

 

सुशासन र प्रविधि विकास

नयाँ पुस्ताले समेत उठाएको सुशासन कायम र भ्रष्टाचारमुक्त सरकारी सेवाको माग पूरा गर्न पहल गरिनेछ।

‘नो लाइन, अनलाइन’ सरकारी सेवा प्रणाली लागू गरी सहज सेवा प्रवाह सुनिश्चित गर्न पहल गरिनेछ।

मालपोत श्रेस्ता बनाउन बुझाउनुपर्ने प्रक्रियागत खर्च रोक्न सेवाग्राहीहरूलाई सरकारी तवरबाटै कानुनी र प्रशासनिक सहयोग उपलब्ध गराउने सरकारी डेस्क स्थापना गर्न पहल गरिनेछ।

 

सामाजिक न्याय र समावेशी विकास

महिलाहरूको सशक्तिकरणका लागि विशेष कार्यक्रम संचालन गरिनेछ।

विधवा तथा एकल महिलालाई सीप विकास र रोजगारीमा जोड्ने तथा प्रतिनिधिमुलक आरक्षणसहित विशेष सामाजिक सुरक्षा व्यवस्था गर्न पहल गरिनेछ।

 

व्यवस्थित बसोबास

भूमिहीन, सुकुम्बासी, वर्षौंदेखि उपभोग गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गर्न नसकेका तथा अव्यवस्थित बसोबासीको यथोचित व्यवस्थापन गरिनेछ।

राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरूमा जङ्गली जनावरहरूबाट खेतीबालीमा हुने नोक्सानी तथा मानवीय क्षति रोक्न प्रभावकारी सुरक्षाका कार्यक्रमहरू संचालन गर्न पहल गरिनेछ।

विकास, रोजगारी, सुशासन र सामाजिक न्यायका साथ अगाडि बढ्न हामी प्रतिबद्ध छौं।

 

नीतिगत सुधारसम्बन्धी प्रतिबद्धता

नेपालगन्ज र डुडुवा क्षेत्रको गरिबी, अशिक्षा, सामाजिक विभाजन र असुरक्षा अन्त्य गर्दै

समावेशी र सभ्य समाज निर्माणार्थ हामी नीतिगत सुधार गर्न प्रतिबद्ध छौं।

गरिबी न्यूनीकरण र मानव विकास

अति विपन्न परिवार पहिचान गरी लक्षित राहत, सीपमुलक तालिम र आयआर्जन कार्यक्रम संचालनार्थ नीति तर्जुमा गरिनेछ।
गरिब बालबालिकाका लागि निशुल्क गुणस्तरीय शिक्षा, पोषण र स्वास्थ्योपचार सुनिश्चित गर्न नीति तर्जुमा गरिनेछ।
सामुदायिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति तथा विशेषज्ञ सेवा विस्तार गर्ने नीति तर्जुमा गरिनेछ।
राष्ट्रिय निकुञ्जसँग जोडिएका गाउँवस्तीका जनताको सुरक्षार्थ नीतिगत सुधारको पहल गरिनेछ।

शिक्षा र सामाजिक जागरण

वयस्क साक्षरता तथा निरक्षरता उन्मुलन अभियान संचालनार्थ नीति तर्जुमा गरिनेछ।
सामुदायिक स्तरमा नागरिक शिक्षा, महिला चेतना र युवा नेतृत्व विकास कार्यक्रम संचालनार्थ नीति तर्जुमा गरिनेछ।
विद्यालयसमुदाय साझेदारीमार्फत शैक्षिक गुणस्तर सुधार अभियानको नीति तर्जुमा गरिनेछ।

धार्मिक सद्भाव र सामाजिक एकता

अन्तरधार्मिक संवाद, सहिष्णुता र सद्भाव प्रवर्द्धन कार्यक्रम संचालनार्थ नीतिगत व्यवस्था गरिनेछ।
सामुदायिक मेलमिलाप केन्द्रमार्फत सामाजिक विवाद समाधानको कार्यलाई प्रोत्साहन गर्ने नीति तर्जुमा गरिनेछ।

पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसर

धार्मिक, सांस्कृतिक र सीमावर्ती पर्यटक प्रबर्द्धनका लागि विशेष नीति बनाइनेछ।

जमुनाहा नाकामा भारतीय पर्यटकमैत्री सेवा, सूचना केन्द्र र सुरक्षित वातावरण सुनिश्चित गर्ने नीति तर्जुमा गरिनेछ।

व्यवस्थित सहरी योजना, सरसफाइ, सडक उज्यालो र सार्वजनिक स्थलको विकास गर्ने नीति तर्जुमा गरिनेछ।

सीमावर्ती गाउँवस्तीमा कृषि व्यवसाय फस्टाउन सघाउ पुग्ने नीति तथा कार्यक्रमहरू तर्जुमा गरिनेछ।

युवा उद्यमीहरूका लागि विना धितो सून्य ब्याजदरमा ऋण उपलब्ध गराउने नीति तर्जुमा गर्न पहल गरिनेछ।

 

लागुऔषध नियन्त्रण र सुरक्षित समाज

लागुऔषध दुरुपयोग नियन्त्रणका लागि कडा कानुनी कार्यान्वयन र सीमा निगरानी सुदृढीकरणको नीति तर्जुमा गरिनेछ।

पुनर्स्थापना केन्द्र, उद्धार, परामर्श सेवा र युवामैत्री खेल(संस्कृतिका लागि नीतिगत व्यवस्था तथा उपलब्ध नीतिहरूको प्रभावकारी कार्यान्वयन गरिनेछ।

विद्यालय तथा समुदायमा नियमित सचेतना अभियान संचालनको नीति तर्जुमा गरिनेछ।

 

समृद्धि तर्फको पाइला चालौं

दिगो विकासको जग बसालौं

 

 

राष्ट्रियता संबर्द्धन, समावेशी विकास र सामाजिक सद्भावका लागि नेकपा एमालेमा मतदान गरौं।

नेकपा एमाले

Nabintech