२७ चैत्र २०८२, शुक्रबार
आफ्नै वडाबाट अभियानको सुरुवात, मतदातासँग सिधा संवादमा सूर्य ढकाल

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०८२, बिहीबार ०७:००

सूर्य ढकाल ले बाँके क्षेत्र नम्बर १ मा चुनावी माहोल तताएका छन्। आफ्नै वडाबाट घरदैलो अभियानलाई तीव्रता दिँदै उनी टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको अभियानमा ढकालले घरआँगनमै पुगेर नागरिकका समस्या सुन्ने र आफ्ना विकासका योजनाबारे जानकारी दिने कामलाई प्राथमिकता दिएका छन्।

घरदैलोका क्रममा स्थानीयवासीले देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्। उनीहरूले स्थिर सरकार, पूर्वाधार विकास र समृद्धिका लागि एमालेप्रति भरोसा व्यक्त गरेका थिए।

संवादका क्रममा ढकालले सडक विस्तार, सिंचाइ व्यवस्थापन, विद्यालय स्तरोन्नति, स्वास्थ्य सेवा सुदृढीकरण तथा युवामुखी रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताए। विगतमा विभिन्न कारणले केही योजना अधुरा रहेको स्वीकार गर्दै उनले यसपटक जनताले विश्वासका साथ विजयी गराएमा ती सबै कामलाई पूर्णता दिने प्रतिबद्धता जनाए।

“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो। बाँके क्षेत्र नम्बर १ लाई विकासको नमुना क्षेत्र बनाउने लक्ष्यका साथ म अघि बढिरहेको छु,” ढकालले भने।

घरदैलो अभियानका क्रममा स्थानीयले उनलाई उत्साहपूर्वक स्वागत गर्दै जितको अग्रिम शुभकामना दिएका छन्। साथै, क्षेत्रको दीर्घकालीन विकासमा प्रभावकारी भूमिका खेल्न आग्रह गरेका छन्।
ढकालको घरदैलो कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछ। प्रत्येक घरसम्म पुगेर सुझाव, गुनासा र अपेक्षा संकलन गर्ने उनको तयारी रहेको अभियान टोलीले जनाएको छ।

Nabintech