२५ चैत्र २०८२, बुधबार
८२ वर्षीयको आशीर्वादले ढकालको राजनीतिक अभियानमा ऊर्जा

  • टाइम्स संवाददाता

  • ९ फाल्गुन २०८२, शनिबार १९:४४

नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालको घरदैलो अभियान यतिबेला जनताको उल्लेखनीय सहभागितासहित अघि बढिरहेको छ।

उहाँले कोहलपुर नगरपालिका वडा नं. १० र ११ मा सञ्चालन गर्नुभएको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। घर घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै ढकालले विकास, सुशासन र समृद्ध बाँके निर्माणप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट पार्नुभयो।

कार्यक्रमकै क्रममा ८२ वर्षीय ज्येष्ठ नागरिक कृष्णबहादुर खड्काले उम्मेदवार ढकाललाई फूलको माला, खादा र अबिरसहित “विजयी भव” भन्दै भावुक शुभकामना व्यक्त गर्नुभयो। उमेरले ८ दशक पार गरिसक्नुभएका खड्काको आशिर्वादले कार्यक्रमस्थलमा भावनात्मक माहोल सिर्जना गरेको थियो। उपस्थित स्थानीयले यसलाई पुस्तान्तरणको विश्वास र आशाको प्रतीकका रूपमा व्याख्या गरेका थिए।

घरदैलोका क्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिनुका साथै महिलाहरूले पनि सक्रिय साथ दिएका थिए। ज्येष्ठ नागरिकको आशिर्वाद, युवाको जोश र जनताको विश्वासलाई आत्मसात गर्दै सूर्य ढकालले “जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो” भन्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।

समृद्ध बाँके निर्माणको लक्ष्यसहित नेकपा एमालेका उम्मेदवार सूर्य ढकाल यतिबेला घरदैलो अभियानलाई थप तीव्रता दिँदै जनताको बीचमा सक्रिय रूपमा अघि बढिरहनुभएको छ ।

Nabintech