२६ चैत्र २०८२, बिहीबार
एमाले उपाध्यक्ष पौडेललाई ४३ हजार मतले पछि पार्दै रास्वपाका खरेल विजयी

  • टाइम्स संवाददाता

  • २३ फाल्गुन २०८२, शनिबार ११:३८

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे ।

खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।

२०६४ को पहिलो संविधानसभा चुनावसहित त्यस यताका सबै निर्वाचनमा सहज जीत निकाल्दै आएका पौडेलले यो पटक फराकिलो मतान्तरले पराजय बेहोरेका छन् ।

निर्वाचनको टिकट वितरणका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुरूमा पौडेललाई पाल्पा क्षेत्र नम्बर २ को टिकट दिएका थिए । तर, रुपन्देही २ का नेता कार्यकर्ताले दबाब दिएर उनलाई फिर्ता गराएका थिए ।

पौडेलले २०६४ मा तत्कालीन माओवादीका भक्तिप्रसाद पाण्डेलाई करिब दुई हजार मतान्तरले पराजित गरेका थिए । यस्तै, २०७० सालको दोस्रो संविधानसभा चुनावमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

२०७४ सालको चुनावमा पौडेलले नेपाली कांग्रेसका युवराज गिरीलाई २२ हजारको फराकिलो मतान्तरले जितेका थिए । २०७९ सालको चुनावमा भने रास्वपाका गणेश पौडेललाई १ हजार ६३६ मतको झिनो अन्तरले मात्र पराजित गरेका थिए ।

Nabintech