काठमाण्डौ – पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आजदेखि ७१औँ वर्षमा प्रवेश गरेको छ । ७१औँ स्थापना दिवसको अवसरमा अध्यक्ष निर्मला शर्माले विज्ञप्तीमार्फत पत्रकार, सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सात दशक लामो इतिहास बोकेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा काम गर्दै आएको उल्लेख गर्नुभएको छ ।
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो छ । जसका कारण पाठकलाई तथ्यपरक सूचना प्रवाह गर्नु चुनौतीका रुपमा देखिएको छ । सही सूचना पाउने नागरिक अधिकारको सुनिश्चितता र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न महासंघ अध्यक्ष शर्माले आग्रह गर्नुभएको छ ।
त्यस्तै लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन र आवश्यक कानुन महासंघसहितका सरोकारवाला पक्षसँग छलफल गरी ल्याउन सरकारसँग महासंघले आग्रह पनि गरेको छ ।
त्यस्तै नवयुवाको आन्दोलनको बेला निशानामा परेका सञ्चारगृह र दुर्घटनामा परेका पत्रकारको महासंघले संकलन गरेको विवरणअनुसार क्षतिपूर्ति दिलाइ मनोबल बढाउन आवश्यक रहेको अध्यक्ष शर्माले बताउनुभएको छ ।










