रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) नवौं दिन हो। यो युद्धमार्फत् रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको सत्ता ढाल्न चाहन्छन् र आफूले भनेको मान्ने मान्छेलाई युक्रेनको राष्ट्रपति बनाउने उनको लक्ष्य छ।
त्यही लक्ष्यका साथ युद्ध सुरू भएको दुई दिनमै रूसी सैनिकहरू युक्रेनको राजधानी किएभतर्फ अघि बढेका थिए । आकाशबाट किएभका विभिन्न ठाउँमा मिसाइल हानेको रूसले जमिनबाट पनि ठूलो मात्रामा सैनिक पठाउन लागेको थियो। स्याटेलाइटबाट लिइएको तस्बिरमा रूसी सैनिकका गाडीको दर्जनौं किलोमिटर लामो लावालस्कर किएभतिर अघि बढिरहेको देखिएको थियो।
उत्तरमा प्रिबिस्कदेखि दक्षिणमा एन्टोनोभ विमानस्थल नजिकैसम्म झन्डै ६५ किलोमिटर लामो रूसी सैनिक गाडीको लावालस्कर झन्डै एक सातासम्म रोकिएको छ। त्यो लावालस्कर रोकिनुका पछाडिको कारण के हो भन्नेबारे अहिले चर्चा भइरहेको छ। रूसी सैनिक गाडीको लावालस्कर अघि बढ्न नसकेपछि यसको तत्कालीन र दीर्घकालीन असर के हुन सक्छ प्रश्न उठेका छन्।
समाचार संस्था एपीका अनुसार रूसी आपूर्ति ट्रक, सैनिक र हतियारको विस्तार खाद्यान्न र इन्धनको अभावसँगै हिलो बाटो र मौसमको चुनौती झेलिरहेको छ। युक्रेनी सैनिकले लावालस्करको सुरूमा रहेका केही गाडीमा आक्रमण गरेर काम नलाग्ने बनाउन सफल भएका छन्। त्यसका लागि उनीहरूले पश्चिमाले दिएका ज्याभेलिन एन्टीट्यांक मिसाइल प्रयोग गरेका छन्। अगाडिका गाडी ध्वस्त भएर रोडब्लक हुँदा पछाडिका गाडीलाई अघि बढ्न बाटो मिलेको छैन।
इन्स्टिच्युट फर स्टडी अफ वारका रूस विश्लेषक मासन क्लार्कअनुसार यो लावालस्कर अघि बढ्न नसक्नु जमिन, जल र आकाशबाट यति ठूलो युद्ध नगरेको रूसी सैनिकको अनुभवहीनताको संकेत हुन सक्छ। तर यसको अर्थ रूसीहरूले युक्रेनी सुरक्षाकर्मीलाई हराउन सक्दैनन् भन्ने होइन। ‘विस्तारै रूसीहरू युक्रेनी फौजलाई पराजित गरेर किएभ कब्जा गर्न सफल हुने छन्,’ क्लार्कले भने।
रूसी सैनिकलाई मौसमको पनि चुनौती छ। अघिको बाटो बन्द भएपछि अफरोड प्रयोग गरेर उनीहरू अघि बढ्न सकेका छैनन्। सार्वजनिक भएका तस्बिरमा केही रूसी गाडी हिलोमा फसेको देखिन्छ।
अमेरिकी रक्षा मन्त्रालयका प्रेस सेक्रेटरी जोन क्रिबीले लावालस्करसँगै उत्तरबाट किएभ कब्जा गर्ने रूसी लक्ष्य रोकिएको बताएका छन्। रूसीहरूले अहिले यसको कारण खोजिरहेको हुन सक्ने उनले बताए।
आफ्नो सडकमा आएर रोकिएका रूसी सैनिक गाडीलाई युक्रेनीले आकाशबाट आक्रमण गरेर किन ध्वस्त पार्दैन भन्ने प्रश्न पनि उठ्छ। पश्चिमा अधिकारी र विश्लेषकका अनुसार रूसी लावालस्कर आकाशबाट हुने आक्रमण प्रतिरोध तयारीसहित आएका छन्। त्यही भएर युक्रेनी सेनाले आकाशबाट आक्रमण गर्न सकेको छैन।
लावालस्कर रोकिनुलाई रूसीहरूलाई धक्काका रूप बुझ्न नहुनेतर्फ अमेरिकी अधिकारीहरूले सचेत गराएका छन्। तत्काललाई लावालस्कर रोकिएको भए पनि रूससँग यस्ता धक्काहरूलाई पन्छाएर किएभ कब्जा गर्ने क्षमता रहेको उनीहरूले बताएका छन्।
परीवेक्षकहरूले रूसी सैनिकहरूलाई आपूर्तिका कारण समस्या भइरहेकोचाहिँ देखिएको बताएका छन्। जसले गर्दा सैनिकहरूलाई खाना र गाडीमा इन्धनको अभाव भोग्नुपरिरहेको छ।
लावालस्करमै रहेका केही गाडी इन्धन कम हुँदै गएको बताइएको छ। रूसी कमाण्डरले किएभको अवस्था बुझ्न र मूल्यांकन गर्न र त्यतिञ्जेल आपूर्तिलाई पनि सहज बनाउने जानजानी रोकिने निर्णय गरेको हुन सक्ने पनि अधिकारीहरूले बताएका छन्।
दक्षिण युक्रेनतिर भने रूसी सैनिकहरूले सफलता पाइरहेको परीवेक्षकहरूले बताएका छन्। उनीहरूले प्रान्तीय राजधानी खेर्सन कब्जा गरेर त्यहाँका सरकारी कार्यालय आफ्नो नियन्त्रणमा लिएका छन्। एजोभ सागरको छेउमा रहेको मारिउपोलमा पनि रूसी सैनिकहरू बिनारोकावट अघि बढिरहेका छन्।
(समाचार संस्था एपीमा प्रकाशित सामग्रीमा आधारित।)