९ कार्तिक २०८१, शुक्रबार
सरकारले बिचौलिया पोस्‍न हतियार किन्‍न खोज्‍यो : सांसद सिलवाल

  • टाइम्स संवाददाता

  • २७ असार २०७९, सोमबार १३:१०

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ।  सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्।  उनले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको आरोप लगाए।

‘हालका उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई फसाउने, जेल हाल्ने र अख्तियार लगाएर कठघरामा ल्याउने ढंगले प्रपञ्चका साथ हतियार किन्ने रणनीति अगाडि बढेको छ। यसको हामी घोर भत्र्सना गर्न चाहन्छौँ। नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन’ उनले भने। उनले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै बिचौलिया र राजनीतिक व्यक्तिहरुलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको बताए।

उनले हतियारको कमिशन तीन सय प्रतिशत सम्म बढाएर रकमान्तर गरिएको बताए।  ‘नेपाल प्रहरीलाई अहिले व्यारेक चाहिएको छ। नेपाल प्रहरीलाई अहिले प्रविधि चाहिएको छ। अहिले डिजिटल क्राइमहरू बढेका छन्। अर्गनाइज क्राइमहरू बढेका छन्। उसलाई अनुसन्धानमा योग्य बनाउनु पर्‍यो। नेपाल प्रहरीलाई हतियार होइन प्रविधि चाहिएको छ। गठबन्धनमा बसेका साथीहरुलाई पैसा चाहिएको छ’ उनले भने।

‘यहाँ कमिशन चाहिएको छ। कमिशन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्रलाई तहसनहस गर्ने गरी ८४ करोडको हतियार किन्ने योजना आएको छ यो राष्ट्रघात हो। हतियारको कमिशन दुई सय, तीन सय प्रतिशतसम्म बढाएर, कोटा बढाएर देशलाई लुट्ने, राज्यलाई लुट्ने ढंगले गठबन्धन अगाडी बढेको छ। यो धोका हो। मुलुकप्रतिको राष्ट्रघात हो।’

उनले हाल नेपाल प्रहरीलाई हतियार नभई व्यारेक र प्रविधि चाहिएको बताए। प्रहरीलाई प्रविधि भित्र्याएर अनुसन्धान योग्य बनाउनुपर्ने उनले बताए।

Nabintech