१८ बैशाख २०८१, मंगलवार
चलचित्र विकास बोर्ड अध्यक्षमा भुवनको नियुक्ति विवादमा

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार १४:५८

काठमाडौं : अभिनेता तथा निर्माता भुवन केसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।

सरकारले मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रूपमा सार्वजनिक गर्दै छ तर अध्यक्षमा केसीको नियुक्ति औपचारिक रूपमा घोषणा नहुँदै केहीले आपत्ति जनाएका छन्।

केसीको नियुक्तिबारे आपत्ति जनाउँदै लेखिका अमृता लम्सालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बोल्यो भने प्रमाण ल्याऊ भन्छन्। दिने प्रमाण त छैन तर उहाँलाई बोर्ड अध्यक्षमा ल्याउन नाम चलेकै महिला अधिकारकर्मीसमेत लाग्नु भएको बजार हल्ला थियो। हुनत महिलामाथि हुने यौन हिंसा र दुर्व्यवहार, मिटुलाई कतिले पो गम्भीरतापूर्वक लिएका छन् र?’

यौन शोषणको आरोप लागेका व्यक्तिलाई चलचित्र विकास बोर्डको अध्यक्ष जस्तो पदमा नियुक्ति गरिएको भन्दै केसीकाे विरोध भएको हो। दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। ‘ड्रिम्स’को छायांकनका क्रममा केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी थिइन्।

बोर्ड अध्यक्षका लागि केसीसँगै अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनीष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले दरखास्त दिएका थिए। गत वैशाखमा मात्रै केसी एमाले छोडेर कांग्रेस प्रवेश गरेका थिए। साेमबारदेखि केसीलाई बधाईकाे ओइराे आउन शुरु भएकाे छ। औपचारिक रूपमा भने यसको घोषणा हुन बाँकी छ।

Nabintech