१८ बैशाख २०८१, मंगलवार
डेंगु आतंक : टेकु अस्पतालमा बिरामीको घुइँचो

७६ सालमा काठमाडौं उपत्यकामा डेंगुले झन्डैझन्डै महामारीकै रुप लिएको थियो


  • सविना खनाल

  • २७ भाद्र २०७९, सोमबार १७:३५

काठमाडौं : कुनै पनि सरुवा रोग अस्पतालमा वा घरमै पनि एकजना बिरामीले अर्को बिरामीको संसर्गमा बस्नु हुँदैन। सरुवा रोगको उपचार गर्दा हरेक बिरामीको सम्पर्कमा जाँदा विशेष सावधानी अपनाइन्छ ।तर सोमबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा बिरामीहरू एकअर्कासँग छोएरै (टाँसिएर) लाइनमा बसेका थिए। उपचार गराउन गएका यी बिरामी अरु कोही नभएर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगुको जस्तै लक्षण लिएर परीक्षण गर्न जानेको भीड हो।​

बिहान १० बजे टेकु अस्पताल पुग्दा अस्पतालको इमर्जेन्सीअगाडि रहेको फिवर क्लिनिकमा डेंगुको लक्षण लिएर परीक्षण गर्नेको लाइन लामो भइसकेको थियो भने अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बिरामीको परीक्षण गरिरहेका थिए। यसरी परीक्षणमा आएका प्रायः सबै बिरामीले टाउको दुख्ने, आँखा दुख्ने, ज्वरो आउने लगायतका लक्षण बताएका थिए भने कतिपय बिरामी लाइनमा बस्दाबस्दै गाह्रो भएपछि त्यहीँबाट इमर्जेन्सी रिफरसमेत भइरहेका थिए।

यसरी बिरामी धेरै आउन थालेपछि अस्पतालले हाल ओपिडी, इमर्जेन्सीबाहेक दुईवटा फिवर क्लिनिक सञ्चालन गरेर उपचार गरिरहेको छ। टेकु अस्पतालका इमर्जेन्सी प्रमुख लिलानाथ भण्डारीका अनुसार पछिल्लो २/४ दिनयता अस्पतालमा ज्वरोका बिरामी झनै बढ्न थालेका छन्। ‘केही दिनयता बिरामीको चाप झनझन बढ्दो छ, दैनिक दुई सयभन्दा बढी त हाम्रो अस्पतालमा डेंगुका बिरामी आउन थालेका छन्‚’ उनले भने।

ज्वरो आउने, टाउको दुख्ने लक्षणसहित आएका प्रायःजसो बिरामीलाई अस्पतालले डेंगु र रगतको परीक्षण गर्ने गरेको उनले बताए।​ उनका अनुसार अझै बिरामी बढ्नसक्ने सम्भावना छ। ‘७६ सालभन्दा यसपटक छोटो समयमा डेंगुका धेरै बिरामी आएका छन्, यो त हाम्रो अस्पतालमा आउनेको मात्रै हो। अन्य अस्पतालमा पनि बिरामी धेरै गएका छन्‚ यसले गर्दा डेंगुका बिरामी ७६ सालभन्दा धेरै बिरामी बढ्नसक्ने देखिएको छ‚’ उनले भने।

७६ सालमा काठमाडौं उपत्यकामा डेंगुले झन्डैझन्डै महामारीकै रुप लिएको थियो। जसले गर्दा टेकु अस्पतालले शनिबारसमेत ओपिडी सञ्चालन गर्नु परेको थियो। त्यस वर्ष देशभर १७ हजार ९ सय ९२ जना डेंगुबाट संक्रमित भएका थिए।

गत साउनको पहिलो सातादेखि बढ्दै गएको डेंगु संक्रमणबाट हालसम्म देशभर नेपालमा ८ हजार ३२७ जनामा डेंगु संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ८ हजार ३२७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।  जसमा सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार २०५ जनामा डेंगु संक्रमण भएको छ। लुम्बिनीमा १ हजार २८४, प्रदेश १ मा २८२, सुदूरपश्चिममा २०६, गण्डकीमा १५०, मधेश प्रदेशमा १४४ र कर्णालीमा ५६ जनामा संक्रमण देखिएको छ।​ डेंगुबाट गत साउनयता हालसम्म ५ जनाले ज्यान गुमाइसकेका छन्।

Nabintech