७ आश्विन २०८१, सोमबार
निर्वाचन आयोगको कारबाहीमा सल्यानका अधिकांश उम्मेदवार

सल्यानमा कारबाहीमा पर्ने निर्वाचित जनप्रतिनिधिमा ५ पालिकाका १० जना प्रमुख र उपप्रमुख रहेका छन


  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७९, बुधबार १६:२८

सल्यान : स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाउने सल्यानका अधिकांश उम्मेदवार कारबाहीमा परेका छन्।

पालिका प्रमुख र उपप्रमुखमा पराजित र निर्वाचित गरि कुल ६६ जना उम्मेदवारले विवरण नबुझाउँदा जरिवानामा परेका छन्। पराजित उम्मेदवारमध्ये अधिकांशले खर्च विवरण बुझाएका छैनन् भने निर्वाचितमध्ये पनि करिब आधा जति जनप्रतिनिधिले पनि खर्च विवरण बुझाएका छैनन्।

१० पालिका रहेको सल्यानमा कारबाहीमा पर्ने निर्वाचित जनप्रतिनिधिमा ५ पालिकाका १० जना प्रमुख र उपप्रमुख रहेका छन्।

जरिवानामा पर्नेहरूमा बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्णबहादुर बुढाथोकी र उपप्रमुख पुरुषोतम आचार्य पनि परेका छन्। बनगाडमा पराजित हुने अन्य उम्मेदवारले पनि चुनाव खर्च विवरण बुझाएका छैनन्।

विवरण नबुझाएर कारबाहीमा पर्ने अन्य पालिकाका निर्वाचित अध्यक्ष र उपाध्यक्षमा कपुरकोटका दुर्गा पुन र प्रकाश भण्डारी, सिद्ध कुमाखका भरत गिरी र रामबहादुर बस्नेत, कुमाख गाउँपालिकाका मानबहादुर बुढाथोकी र लालबहादुर रावत, त्रिवेणीका खिमबहादुर रावत र सीता खड्का रहेका छन्।

निर्वाचित ८३ जना वडाध्यक्षमध्ये ४९ जना वडाध्यक्षले विवरण नबुझाउँदा कारबाहीमा परेका छन्। खर्च विवरण नबुझाउने वडाध्यक्षहरूमा त्रिवेणी, कुमाख, सिद्धकुमाख र बनगाड कुपिण्डेका सबै निर्वाचित वडाध्यक्ष रहेका छन्।

निर्वाचन आयोगले नगरपालिका प्रमुख र उपप्रमुखलाई ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूलाई २ लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यहरूलाई १ लाख ५० हजार जरिवाना तोकेको छ। अबको ६ महिनाभित्र जरिवाना नबुझाएमा ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

Nabintech