९ आश्विन २०८१, बुधबार
विद्यालयसँग ऋण लिएरै पढ्दै कमाउँछन् विद्यार्थी

विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन


  • रासस

  • १० आश्विन २०७९, सोमबार ११:२६

सुर्खेत: विद्यालयसँग ऋण लिएर सुर्खेत राहताल गाउँपालिका – ५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पढ्दै कमाउदै गर्न सफल भएका छन्।

विद्यार्थीले कृषि कर्म, पशुपालन लगायतका काम गरेर आम्दानिको स्रोत जुटाएका हुन्। अत्तरियाका युवराज आचार्य जनज्योति माविमा तीनवर्षे ‘भेटेरेनरी जेटिए’ विषय अध्ययन गर्छन्। माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेर रोजगारीका लागि भारतको हिमाञ्चल गएका उनी अहिले विद्यालयमा पढाइसँगसँगै आम्दानी गर्न पनि सफल भएका छन्।

पढाइ सँगैसँगै उनले सोही विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले दिएको ऋणले १२ वटा बंगुर र एक सय ५० वटा बट्टाइपालन गरेका छन्। आचार्यसहित ६ जना विद्यार्थीले बंगुर र बट्टाइबाटै विद्यालयको शुल्क र ऋण तिरेका छन्। आचार्यले भने,‘स्कुलको ऋण तिरेर पनि फाइदा हुन्छ। पढाइ खर्चबाट बचेको पैसा घरमा पठाउँछु।’

उनका अनुसार विद्यार्थीले लिएको ऋणको ब्याज तिर्नुपर्दैन। विद्यालय छाड्ने बेलासम्म साँवा रकममात्रै तिरे पुग्ने उनले बताए।

यस्तै सोही विद्यालयमा तीनवर्षे भेटेरेनरी जेटिए अध्ययन गरिरहेका सुर्खेतका दीपक शाहीले विद्यालयको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत बट्टाइको चल्ला ‘ह्याचरी’ सञ्चालन गर्दैै आएका छन्।

उनले यसबाट आफ्नो पढाइ खर्चसँगै घरपरिवारलाई खर्च पठाउने गरेको बताए। अहिले उनलाई विभिन्न ठाउँबाट चार हजार दुई सय चल्लाको माग आएको छ । दीपक जनज्योतिमा पढेर उद्यम गरेकै कारण विद्यालयको सिफारिसमा उनका आमाबुवालाई कृषिकर्मकालागि बैंकले सहुलियतमा १० लाख रुपौयाँ ऋण दिएको छ । सैद्धान्तिकसँगै प्रयोगात्मक अध्यापन गर्दा बुझ्न सहजता हुनुका साथ पढाइ प्रभावकारी भएको आचार्य र शाहीको अनुभव छ।

जनज्योति माविले विगत तीन वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयले विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन्। ‘पढ्दै कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको जनज्योति माविका प्रधानाध्यापक नारायण सिग्देल बताउछन्। उनले भने, ‘विद्यार्थीले काम गर्ने जाँगर मात्रै देखाउनुपर्यो। उनीहरूलाई समूह वा व्यक्तिगत रूपमा सानोतिनो व्यवसायका लागि ऋण दिइरहेका छौँ।’

विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरेनरी र कृषितर्फ १८ महिने र तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ। विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन्। त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन्, त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन्।

विद्यार्थीलाई पाँच हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म ऋण दिइरहेको प्रअ सिग्देलले बताए। उनले भने,‘विद्यार्थीलाई सर्च, रिसर्च र खर्चको विधि अपनाएर व्यवसायमा संलग्न गराएका छौँ। यसबाट विद्यार्थीले कतिसम्मको व्यवसाय गर्न सक्छन् पहिचान गरेर धेरै लगानी गर्नुपर्ने व्यवसायलाई बैंकिङ प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराउँछौँ।’

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीसँग लिएको पाँच हजार रुपैयाँ धरौटीबाट राखेर त्यही कोषमा जम्मा भएको रकमबाट विद्यालयले ऋण उपलव्ध गराउछ। यस्ता कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले ५० लाख उपलब्ध गराएको छ। उक्त रकमबाट ३५ लाखको लागतमा विद्यालयले तीन हजार कुखुरा, ५० बंगुर र २० माउ बाख्रा अट्ने खोर बनाएको छ।

प्रअ सिग्देलका अनुसार ३० लाखमा अर्को कोष बनाएर विद्यार्थीलाई आवश्यकतानुसार ऋण दिँदै आएको छ । प्राविधिक शिक्षाअन्तर्गत प्रयोगात्मक कक्षाका लागि आवश्यक पर्ने सबै संरचना विद्यालयको आफ्नै छ । आफूसँग भएको जग्गा नपुगेपछि विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएको पनि छ। भाडामा लिएको जग्गामा पनि विद्यार्थीले माछा, बंगुर, कुखुरा तथा मौरीपालन गरिरहेका छन्। तरकारी र च्याउलगायत खेती पनि गरिरहेका छन्। विद्यालयले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई कापी, कलममात्रै होइन विद्यार्थीले उत्पादन गरेको कृषिजन्य सामग्री लिएर विद्यालय आउन जान पनि सिकाएको छ।

कार्यक्रम सञ्चालनपछि जनज्योतिका विद्यार्थी हरेक दिन विद्यालय आउने समयमा अण्डा, मह, तरकारी, कुखुरा ल्याएर विद्यालयको कृषि तथा पशु व्यवसाय प्रवर्धन सेवा केन्द्रमा जम्मा गर्छन्। कुन विद्यार्थीले के ल्याए भनेर सेवा केन्द्रमा बसेका शिक्षकले तथ्याङ्क संकलन गर्छन्। विद्यालयले बजारमा वस्तु बिक्री गरेर विद्यार्थीलाई पैसा दिन्छ। प्रअ सिग्देलका अनुसार विद्यार्थी खाली हात आउन नपाउने गरी विद्यालयले नियम बनाएको छ।

विद्यालयले ३ कक्षामुनिका बालबालिकाका अभिभावकसँग कृषिमा कसरी बालबालिकालाई जोड्न सकिन्छ भनेर अन्तरक्रिया गर्ने गरेको छ। ४ देखि १२ कक्षासम्म प्रत्येक कक्षामा ४० जनाका दरले विद्यार्थीलाई कृषि विषय अध्यापन गराइन्छ।

जनज्योतिले सुरुवात गरेको पढ्दै कमाउँदै कार्यक्रमलाई  सरकारले गत वर्ष मात्रै नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा ल्याइसकेको छ। विद्यालयमा दुई सय ५० विद्यार्थीले १८ महिनेदेखि तीन वर्षे कृषि तथा भेटेनरी जेटिए अध्ययन गर्दै आएका छन्। यस वर्ष एक सय ६० जना विद्यार्थी भर्ना हुँदैछन्। विद्यालयले अध्ययनसँगै कृषि, पशुपालन र सीप विकासमा विद्यार्थीलाई केन्द्रित गरेको छ।

अहिले विद्यालयले जङ्गलमा खेर जाने थाकलका पातबाट विद्यार्थीलाई टोपी र झोला बनाउने तालिम दिन थालिएको छ । विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा विद्यालयले विद्यार्थीलाई सिप मुलक ज्ञान प्रदान गरिरहेको छ। अहिले विदेशबाट नौँ लाख झोला र टोपीको माग आएको विद्यालयले जनाएको छ। त्यहीँ परिपूर्ति गर्नका लागि विद्यालयले तालिमलाई निरन्तरता दिएको प्रअ सिग्देल बताउछन्।

उनले भने,‘ यससँगै विद्यालयले चुरापोते, चप्पललगायत सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ। सर्टिफिकेट भएर मात्र केही हुनेवाला छैन, सीपको विकास नै महत्वपूर्ण शिक्षा हो। अहिले हाम्रा विद्यार्थी पढ्दै कमाउँदै छन्। यसबाट समुदायको पनि विकास भएको छ ।’ अहिले विद्यालयमा अध्ययनरत एक हजार दुई सय ९७ जना विद्यार्थी कुनै न कुनै माध्यमबाट कृषि तथा पशुपालनमा जोडिएका छन्।  

Nabintech