८ आश्विन २०८१, मंगलवार
भारतबाट चामल आयातमा नेपालगञ्ज भन्सारको कडाई

  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०७९, शुक्रबार १३:२७

नेपालगञ्ज : बाँकेस्थित नेपालगञ्ज भन्सार कार्यालयले भारतबाट चामल ल्याउन कडाई गरेको छ । घरायसी खर्चका लागि भन्दै सर्वसाधारणले राजस्व नतिरि चामल ल्याएपछि नेपालगञ्ज भन्सार कार्यालयले राजस्व बढाउन चामल ल्याउन कडाई गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले बताए ।

घरायसी खर्चका लागि सर्वसाधारणले भारतबाट खुलेआम चामल ल्याउँदा राजस्व घट्नुका साथै नेपालगन्जको ब्यापार ब्यवसायमा समेत असर परेपछि कडाई गरिएको उनले बताए । ‘भन्सार ऐन अनुसार एक बोरा चामलको एक सय रुपैँया राजस्व लिइएको छ । यसले राजस्व बढ्ने नै भयो । भारतबाट चामल ल्याउनेहरु निरुत्साहित हुनेछन्,’ उनले भने ।

भारतबाट चामल ल्याउन भन्सार कार्यालयले गरेको कडाईलाई निरन्तरता दिने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । अवैध रुपमा ल्याउने क्रमलाई भंग गर्न र राजस्वको दायरा बढाउन कडाई गर्नुको विकल्प नभएको उनको भनाई छ । घरायसी खर्चका लागि ल्याउनेलाई छुट दिँदा तस्करी बढेको उनको भनाई छ । ‘खुट्टा टेक्ने ठाउँ दिँदा सुत्ने ठाउँ खोज्ने प्रबृत्ती बढ्यो । अहिले नियन्त्रण नगरे झनै समस्या पर्ने देखियो,’ उनले भने ।

नेपालगञ्ज भन्सार कार्यालयले बुधवारदेखि चामल ल्याउन कडाई गरेको हो । बुधवार पहिलो दिन तीनसय २१ वटा प्रज्ञापन पत्र जारी भएको आइटी अफिसर नाथप्रसाद सापकोटाले जानकारी दिए ।

Nabintech