८ आश्विन २०८१, मंगलवार
सरकारले तोक्यो धानको न्यूनतम मूल्य, प्रतिक्विन्टल २६६ रूपैयाँले वृद्धि

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०७९, बुधबार १८:५२

काठमाडौं : किसानले खेतबाट धान भित्र्याउने वेलामा सरकारले धानको मूल्य बढाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आवका लागि धानको मूल्यमा २१५ देखि २६६ रूपैयाँसम्म बढाएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।

उनका अनुसार वृद्धि भएको मूल्य बमोजिम मोटा धानको मूल्य प्रति क्विन्टल २१५ रूपैयाँ बढेर २ हजार ९६७ रूपैयाँ प्रति क्विन्टल कायम भएको छ। प्रति क्विन्टल २६६ रूपैयाँले बढाएर मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार १२८ रूपैयाँ तोकिएको छ।

गत आवमा मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ७५२ रूपैयाँ र मध्यम धानको मूल्य २ हजार ९०२ रूपैयाँ तोकिएको थियो।चालू आवका लागि मोटा धानमा न्यूनतम समर्थन मूल्य प्रतिकेजी २ रूपैयाँ १५ पैसा र मध्यम धानको प्रतिकेजी २ रूपैयाँ २६ पैसा बढेको छ।कात्तिक १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार धानको मूल्य वृद्धि गरी न्यूनतम समर्थन मूल्य तोकिएको प्रवक्ता सञ्जेलले बताए।

किसानको धान बिक्री नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटमार्फत सरकारले नै खरिद गर्ने व्यवस्था छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने उनको भनाइ छ। न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत यस वर्ष ३ लाख मेट्रिक टन धान किन्न ३३ करोड रूपैयाँ बजेट व्यवस्था गरिएको प्रवक्ता सञ्जेलले जानकारी दिए। गत वर्ष यस कार्यक्रमअनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको थियो।

Nabintech