२१ कार्तिक २०८१, बुधबार
काठमाडौं–४ बाट गगनको ‘ह्याट्रिक

  • टाइम्स संवाददाता

  • ६ मंसिर २०७९, मंगलवार १२:४२

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। महामन्त्री थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन्।  उनले नेकपा एमालेका डा. राजन भट्टराईलाई पराजित गरेका छन्। भट्टराईले १३ हजार ८५५ मत पाएका छन्।

चौथो ह्याट्रिक, प्रत्यक्षमा तेस्रो

थापाको काठमाडौं–४ बाट यो चौथो जित हो। उनी पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका थिए। त्यसपछि दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं–४ बाट प्रत्यक्षतर्फ निर्वाचित भए। उनी २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भए।

त्यसपछि २०७४ सालको निर्वाचनमा नेकपा एमालेका डा. राजन भट्टराईलाई पराजित गरे। वाम गठबन्धनको साथ पाएका भट्टराई थापासँग पराजित बनेका थिए। उनी २१ हजार पाँच सय ५८ मत पाएर विजयी भएका थिए भने भट्टराईले १८ हजार १४० मत पाएका थिए। २०७० सालको निर्वाचनमा थापाले २२ हजार ३३६ मतसहित नेकपा एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए।

२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामा  राजनीतिमा होमिएका थापा २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भए। २०५३ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भए।

२०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा नेविसंघको महामन्त्रीसमेत भए। २०६८ सालमा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका उनी हाल कांग्रेस महामन्त्रीको रुपमा रहेका छन्।

उनले निर्वाचनका बेला भोट माग्ने क्रममै आफू प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत हुने बताउँदै आएका छन्। उनले आफू निर्वाचित भएसँगै पार्टीमा संसदीय दलको नेता छान्‍ने प्रक्रिया सुरु गर्ने बताएका छन्।

Nabintech