बाँके: बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ । यो मागको एक तिहाइ मात्रै हो ।
जिल्लामा हालसम्म नौ सय ८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले बताए । उनका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट एक सय ३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ । साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए ।
बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार पाँच सय मेट्रिक टन डिएपी मलको माग रहेको छ । हालसम्म साल्ट ट्रेडिङमा सात सय एक मेट्रिक टन मल आएको छ । उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । साल्ट ट्रेडिङमा हिउँदे यामका लागि एक सय ७५ मेट्रिक टन डिएपी मलको कोटा रहेकामा हालसम्म ७७ दशमलव ८५ मेट्रिक टन मात्र आएको छ ।