२० कार्तिक २०८१, मंगलवार
११ वर्ष लगाएर बनेको जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा समस्या

केन्द्रको बाटो काँक्रेबिहार संरक्षित क्षेत्रभित्र पर्‍यो


  • टाइम्स संवाददाता

  • २९ मंसिर २०७९, बिहीबार ०९:४४

सुर्खेत :  एक दशकभन्दा बढी समय लागेर बनेको जिल्लाको जडिबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्र सञ्चालनमा आउन सकेको छैन। काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको केन्द्र सञ्चालनमा आउन नसकेको हो।

११ वर्षअघि अर्थात् २०६८ सालमा सुर्खेत उद्योग वाणिज्य संघले जडीबुटी संकलन, प्रशोधन तथा व्यवसाय सञ्चालन गर्ने उद्देश्यले केन्द्र निर्माण सुरु गरेको थियो। केन्द्र निर्माणका लागि निजी तथा साझेदारी मोडेलमा करिब चार करोड रुपैयाँ खर्च भएको छ।

आयातमुखी बजार अर्थतन्त्रलाई निर्यातमुखी बनाउने लक्ष्यअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्ने उद्देश्य राखिएको सुर्खेत उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मण कँडेलले बताए। केन्द्र सञ्चालनका लागि संरचना निर्माण भइसके पनि यातायातका लागि सडक पूर्वाधार सुनिश्चित नहुनु मुख्य समस्या भएको संघले बताएको छ।

काँक्रेविहार संरक्षित क्षेत्र नेपालको पहिलो संरक्षित क्षेत्र हो। यो प्रशोधन केन्द्रको मूल गेट काँक्रेविहारको सीमासँगै जोडिएको छ। हाल प्रशोधन केन्द्रका लागि काँक्रेविहारभित्रकै बाटो प्रयोग भइरहेको छ। काँक्रेविहार क्षेत्रले आफ्नो सीमा क्षेत्रमा पर्खाल लगाउँदैछ।

निर्माणाधीन पर्खाल बनिसकेपछि प्रशोधन केन्द्रले प्रयोग गरिरहेको सडक बन्द हुनेछ। संरचना निर्माण गर्दा बाटो, विद्युतलगायतका विषयमा ध्यान नपुर्‍याउँदा अहिले समस्या भएको सरोकारवाला बताउँछन्। स्थायी बाटो नै नभएको स्थानमा करोडौँ लगानी गरेर संरचना निर्माण गर्नु गलत भएको उनीहरूको भनाइ छ।

प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा अहिले कर्णालीका व्यवसायी नेपालगञ्ज हुँदै भारततर्फ सस्तो मूल्यमा जडिबुटी बिक्री गर्न बाध्य छन्। जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कर्णालीका जडिबुटी व्यवसायीलाई सहज हुनेछ। सुर्खेतमै संकलन र प्रशोधन कार्य भएपछि जडिबुटीको ग्रेडिङसहित प्रशोधन गरी बजारीकरणमा सहज हुनेछ भने किसानले उचित मूल्य पाउनेछन्।

कर्णालीमा १४७ भन्दा बढी जडिबुटी पाइने अनुमान गरिएको छ। निजी लगानीमा जडिबुटी स‌ंकलन गर्ने गरिए पनि जडीबुटी भण्डारण केन्द्र नहुँदा गुणस्तर कायम गर्न समस्या भएको भन्दै केन्द्र निर्माण गरिएको हो।

Nabintech