७ मंसिर २०८१, शुक्रबार
उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार

अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो


  • टाइम्स संवाददाता

  • ८ पुष २०७९, शुक्रबार १०:२१

टीकापुर: कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ । चौधरीलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको सरोकार समूहका सचिव नवराज भट्टराईले जानकारी दिनुभयो । “हामीले पठन संस्कृतिको विकास गर्न खोजेका हौँ”, उहाँले भन्नुभयो, “पुस्तकालयमा सबैभन्दा बढी पटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौँ । अध्ययनमा नागरिकको रुचि जगाउन यो गर्न थालिएको हो ।”
सरोकार समूहका सचिव भट्टराईले पुस्तकालय र समूहको सहकार्यमा आगामी एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताउनुभयो । यस महिनाको पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको हो । पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा  चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गर्नुभयो ।  रासस

Nabintech