धनकुटा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताएका छन्। तर, अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने पोख्रेलको भनाइ छ। प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले एमाले सरकार बनाउने खेलमा नरहेको बताए।
भर्खरै सम्पन्न निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए। तर, गठबन्धन तोडेर कांग्रेस वा माओवादी केन्द्र आए छलफल गर्न सकिने उनको तर्क छ। गठबन्धन राष्ट्र हितमा नभएकोले यो पहिले तोडिनुपर्छ भन्ने एमालेको धारणा रहेको उनले बताए।