जुम्ला: रेडपाण्डाको अनुसन्धान गर्न बेलाबखत विदेशी टोली जुम्लामा पुग्ने गरेको छ। गत मंसिर पहिलो साता फ्रान्सेली नागरिक हेलन अलारी नेतृत्वको टोली रेडपाण्डा अनुसन्धान गर्नका लागि जुम्ला पुगेको थियो।अलारी नेतृत्वको तीन जनाको टोलीले रेडपाण्डाको बासस्थान हुनसक्ने जंगलमा पुगेर अनुसन्धान गरेको थियो। दुई दिन तातोपानी ८ स्थित नदै सामुदायिक वनमा अनुसन्धानमा बिताएको टोलीले रेडपाण्डा फेला पार्न सकेको थिएन, तर रेडपाण्डाको दिसा र बस्ने रुखको टोड्काहरु फेला पारेको थियो।
स्थानीयसँग रेडपाण्डाको अवस्था र संरक्षण गर्न चालिएका कदमका विषयमा गहिरो चासो राख्छन् । रेडपाण्डाको विषयमा वन डिभिजन कार्यालयमा ओजेटी गर्न आउने विद्यार्थीहरु त झनै चासोपूर्वक अध्ययन गरिरहेका हुन्छन् । सन् २०१७ मा हातेमालो सेवा समाज र रेडपाण्डा नेटवर्कले जिल्लाको १ नगरपालिकासहित ७ वटै गाउँपालिकामा रेडपाण्डाको अनुसन्धान गरेको थियो । हरेक सम्भावित जंगलमा पुगेर गरिएको अनुसन्धानले जुम्लामा रेडपाण्डा प्रसस्त भेटिन सक्ने देखायो ।
रेडपाण्डाको दिसा र रेडपाण्डा बस्ने रुखका टोड्काहरु फेला पारेको थियो । हातेमालो सेवा समाजका अध्यक्ष टेकबहादुर रोकायाले रेडपाण्डा जिल्लाको सबै क्षेत्रमा पाइने बताए । अध्यक्ष रोकायाका अनुसार सन २०२१ मा महारुद्र सामुदायिक वन पटमारा र २०२२ मा नदै सामुदायिक वन तातोपानीमा रेडपाण्डा भेटिएको थियो । जसले पनि जुम्लाका जंगलहरुमा रेडपाण्डा पाइन्छ भन्ने प्रमाणित हुने उनको दाबी छ।
यद्यपि रेडपाण्डाको संख्या भने यकिन गर्न सकिएको छैन । रेडपाण्डा नेटवर्कले अहिले हरेक सामुदायिक वनमा वन अभिभावक राखेका छन् । एउटा सामुदायिक वनमा दुई जना वन अभिभावक खटिन्छन् । उनीहरु जंगल जोगाउने र रेडपाण्डाको चालचलन र अवस्था अवलोकन गरिरहन्छन् ।
वर्षमा ४ पटक जंगल क्षेत्रमा पुगेर अध्ययन गर्ने वन अभिभावकमा दुई जना महिला छन् । उनीहरु संरक्षित क्षेत्रको अवलोकनका साथै रेडपाण्डाको चोरी सिकारीका बारेमा समेत जानकारी लिन्छन् । रेडपाण्डा चिनाउने होमस्टे सञ्चालनमा पछिल्लो समय रेडपाण्डा बचाउनका लागि भन्दै पातारासीको पटमारामा होमस्टे सञ्चालनमा छन् । त्यहाँ रेडपाण्डाको बारेमा हरेक नयाँ अतिथिलाई ब्रिफिङ गरिन्छ । ६ जना महिला मिलेर बनाएको होमस्टेमा रेडपाण्डाको चर्चा हुन्छ ।
रातो हाब्रेको नामले चिनिने रेडपाण्डाको बासस्थान विनाश, चोरी सिकारीका घटनाका कारण पनि संकटमापरेको संरक्षकहरूको चिन्ता छ। विज्ञहरूका अनुसार उच्च पहाडी क्षेत्रका वनमा पाइने रेडपाण्डाको आयु ८ देखि १० वर्षसम्म हुने गरेको छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म रेडपाण्डाको गर्भाधान हुने महिनाको रुपमा लिइन्छ । रेडपाण्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण वन्यजन्तु मानिएकाले यसको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा संरक्षकहरूले जोड दिने गरेका छन् ।