काठमाण्डौ : हिजोआज सामाजिक सञ्जाल टिकटकमा ‘धोकेबाज हौ तिमी’ बोलको एउटा गीत ‘भाइरल’ भएको छ । गायिकाले महोत्सवमा गीत गाउँदा केही युवतीहरुले क्यामेरातिर फर्केर हाउभाउ देखाएको भिडियो सार्वजनिक भएपछि टिकटकमा त्यसकै नक्कल गर्नेहरुको संख्या थपिएको छ । गाउँदा, नाच्दा वा केही फरक गरेर अरुको नजरमा पर्ने र चर्चा हासिल गर्ने उद्देश्यले यसैगरी भाइरल हुने होड बेलाबेला चलेको देखिन्छ । यसरी भाइरल हुने होडमा किशोरकिशोरी बढी देखिन्छन् ।
केही दिनअघि गायक पुष्कल शर्माले कैलाली अत्तरियाको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा प्रस्तुती दिँदै गर्दा एउटी युवती रोएर सँगै गाउँदै गरेको भिडियो भाइरल भएको थियो । ती युवतीलाई त्यसो नगर्न भनेर शर्माले सम्झाउनु भएको थियो ।
त्यसपछि ठाउँठाउँको महोत्सवमा गायिका एलिना चौहानको ‘धोकेबाज हौ तिमी’ भन्ने गीतमा भाइरल हुनका लागि जता जता क्यामरा देखिन्छ त्यतै त्यतै चिच्याउने कराउने गरेको भिडियो देख्न सकिन्छ ।
आफूले गीत गाउँदै गर्दा कोही मिनरल वाटरको बोतलबाट पानी खन्याएर नाच्ने, कोही हँसाउने ढंगले नाच्ने, कोही कार्यक्रमको छेकबार नै भत्काउँला झैँ गर्ने गरेको गायिका चौहान बताउनुहुन्छ । आफूले यस्ता गतिविधि नगर्न स्टेजबाटै भन्ने गरेको पनि उहाँले बताउनुभयो ।
‘अरुलाई पानी छ्याप्ने, असर गर्ने, ठेल्ने, लडाउने काम नगर्न तथा रमाइलो गर्न भनिरहेकी हुन्छु,’ उहाँ भन्नुहुन्छ, ‘यस्ता कारणले गीतका शब्दहरु बिर्सिने कता कता पुग्ने हुन्छ । तर, कभर गर्छु ।’
यसमा भाइरल हुन खोज्नेभन्दा पनि भाइरल बनाउनेको गल्ती धेरै रहेको उहाँको भनाइ छ । रमाइलो गर्नेले गरे पनि त्यसरी भिडियो खिचेर हालेका कारण व्यक्तिगत जीवनमा असर पर्ने र रमाइलो गर्ने व्यक्तिले पनि यस्ता कुरामा भने सचेत हुनुपर्ने उहाँको सुझाव छ ।
उहाँ भन्नुहुन्छ, ‘अहिले देखिने भएर यो ठूलो जस्तो भएको हो । अहिले त ट्रेन्ड जस्तो देखिन्छ । अहिले मोबाइल तेस्र्याइदिने अनि विना स्वीकृति भिडियो अपलोड गर्ने गरेका कारण पनि यस्तो भएको हो ।’
भाइरल भएपछि चर्चामा आउने कारणले अहिलेको पुस्तालाई यो सही नभएको र यस्तो ठीक होइन भनेर सम्झाउन गाह्रो परेको भन्नुहुन्छ चाबहिलकी सरस्वती घिमिरे । उहाँ भन्नुहुन्छ, ‘अहिले हाम्रै छोराछोरीलाई पनि सम्झाउन गाह्रो छ । केही भन्यो, सम्झायो भने हामीलाई थाहा छ भनेजस्तो गर्छन् ।’
छोराछोरीलाई सम्झाउने बुझाउने भन्दा पनि यो एउटा परम्पराकोरुपमा विकास होला भन्नेमा घिमिरेको चिन्ता देखिन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले सबैलाई भाइरल हुने रहर छ । भोलि त यो कल्चरकोरुपमा विकास होला जस्तो पो भयो ।’
अहिले आमाबाबुले पनि आफ्ना साना केटाकेटीलाई पनि भाइरल बनाउने नाममा विभिन्न भिडियोहरु अपलोड गर्ने गर्दा भोलि त्यसले भविष्यमा असर गर्ने घिमिरेको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले बाउआमालाई छोराछोरीलाई सानैदेखि भाइरल बनाउने रहरले भोलि गएर ती केटाकेटीले चर्चा पाएनन् वा कसैले राम्रो व्यवहार गरेनन् भने तिनले समाजमा संघर्ष गरेर बाँच्नै नसक्लान भन्ने डर पनि छ ।’
अहिले भाइरल हुने कुराले पछि नकारात्मक असर पर्ने बाल मनोविद् डा. गंगा पाठकको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो एकदमै नराम्रो र समाजमा विकृति ल्याउने कुरा हो । कति लाइक आयो, कति कमेण्ट आयो अनि कति भ्यूज भयो भन्ने कुराले झनै तनाव दिने गरेको छ ।’
एक जना किशोरीले अरुको टिकटक हेरेर आफूले टिकटक बनाउन थालेपछि त्यहाँ आएका नकारात्मक टिप्पणीले किशोरीलाई डिप्रेशन भएर औषधि खुवाउनु परेको र मनोपरामर्श पनि गर्नु परेको उहाँको अनुभव छ ।
विशेषगरी १३/१४ वर्षको उमेर एकदमै संवेदनशील उमेर भएको यस उमेर समूहका किशोरकिशोरीहरुले के राम्रो, के नराम्रो थाहा नपाउने, अरुको नक्कल गर्ने, चाँडै नै उचाइमा पुग्न खोज्ने कारणले अहिले भाइरल हुने प्रवृत्ति बढेको र यसले मानसिक रोगी बनाउने पनि उहाँको भनाइ छ ।
उहाँका अनुसार अहिलेका पुस्ताको आफ्नो विशेष क्षमता, खुबी, सीप प्रस्तुत गरेर स्थापित हुनेभन्दा पनि तुरुन्तै आफूप्रति ध्यान खिच्न खोज्ने प्रवृत्ति बढेको छ । उहाँ भन्नुहुन्छ, ‘सानो बच्चालाई एक्सपोज गरेको होस् वा ठूलालाई यसले एउटा त आनन्द दिने भयो भने अर्को भनेको यस्ले छिटै नै अरुको एटेन्सन खिच्ने काम पनि गर्छ । यो कसैले जानाजान चर्चित हुन् र कोही भने केवल मनोरञ्जनका लागि गरिरहेका हुन्छन् । यसमा कस्ले कसरी प्रयोग ग¥यो भन्ने कुरा मुख्य हो ।’
उहाँका अनुसार कसैले एकदमै सस्तो र सहज तरिकाले लिन्छन् भने यो मनोरञ्जन भयो । यसमा आफूले पनि आनन्द लियो अरुलाई पनि आनन्द दियो । अथवा कोही भने यस्तो गरेर भाइरल बन्छु, धेरैले हेरुन भनेर यसो गर्ने गर्छन् ।
यो सही वा गलत के हो भन्ने नबुझी साथीको वा फलानोको भिडियो भाइरल भएछ अब म पनि बनाउनु पर्यो भनेर लहैलहै र देखासिकीमा जाने तर, त्यसको सकारात्मक अनि नकारात्मक पक्ष नहेर्ने तथा के उपलब्धि हुन्छ भनेर भिडियो बनाउने होडबाजी नै चलेको मनोविद पाठक बताउनुहुन्छ । भाइरल हुने नाममा त्यसको सकारात्मक वा नकारात्मक पाटो नहेरी भिडियो बनाउँदा पछि यसले व्यक्तित्व विकासमा पनि ठूलो असर गर्ने भएकाले सचेत हुन उहाँको सुझाव छ ।