११ मंसिर २०८१, मंगलवार
नेपालगञ्जमा उत्साहजनक देखिएन हात्तीपाइलेविरुद्धको औषधि सेवन

जिल्लाका विशिष्ट व्यक्तित्वहरुले आएर औषधि खाएको वडाको कभरेज दयनीय


  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७९, शनिबार १४:२६

नेपालगञ्ज : स्वास्थ्यकर्मीले जोडबल गरिरहे पनि नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान उत्साहजनक देखिएको छैन । स्थानीयले औषधी सेवनमा रुचि नदेखाएपछि स्वास्थ्यकर्मीको जोडबलले खासै काम गरेको तथ्यांकले देखाएको छैन ।

दिनभरि दौडधुप गर्दा कतिपय वडामा सय आसपासमा मात्रै औषधि खुवाउन सकिएको छ। नेपालगञ्जको वडा नं. ३ मा पहिलो दिन एक सय १६ र दोस्रो दिन एक सय ३४ जनाले औषधि सेवन गरेका छन् ।

अभियानको सुरुवात नै यही वडाबाट भएको थियो भने प्रदेश सांसददेखि जिल्ला समन्वय समितिका संयोजक, मेयर, सीडीओले यही वडाबाट औषधि खाएका थिए । जिल्लाका विशिष्ट व्यक्तित्वहरुले आएर औषधि खाएको वडाको कभरेज दयनीय देखिएको छ ।

वडा नं. १६ को अवस्था उस्तै छ । यो वडामा पहिलो दिन एक सय ३३ र दोस्रो दिन एक सय ५५ जनाले औषधि खाएका छन् । वडा नं. ७ मा पहिलो दिन एक सय ३५ र दोस्रो दिन दुई सय ५६, वडा नं. १९ मा पहिलो दिन एक सय ४२ र दोस्रो दिन दुई सय ४१, वडा नं. ५ मा पहिलो दिन तीन सय ६४ र दोस्रो दिन ७९ जना, वडा नं. ११ मा पहिलो दिन २ सय ८५ र दोस्रो दिन एक सय १८ जनाले औषधि खाएका छन् ।

पहिलो दिन सबैभन्दा धेरै वडा नं. १८ मा एक हजार एक सय ८९ जना र वडा नं. १० मा एक हजार ८९ जनाले औषधि खाएका छन् । यही वडामा दोस्रो दिनमा आइपुग्दा खानेको संख्या घटेको छ । वडा नं. १८ मा दोस्रो दिन ५ सय ७३ र वडा नं. १० मा दोस्रो दिन ७ सय ५२ जनाले औषधि खाएका छन् ।

बाँकेमा फागुन ११ गतेदेखि १३ औँ चरणको आम औषधि सेवन अभियान शुरु भएको छ । फागुन मसान्तसम्म नै औषधि खुवाउने रणनीति रहेको छ । शुरुवाती दुई दिनको कभरेज कमजोर भए पनि सुध्रिदै जाने स्वास्थ्यकर्मीले आशा गरेका छन् ।

Nabintech