जनकपुरधाम : धनुषाको जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले यो वर्षको महामूर्ख उपाधि प्राप्त गरेका छन्। जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि प्रमुख साहलाई प्रदान गरिएको हो। जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उनलाई सो सम्मान दिइएको आयोजकले जनाएको छ।
नगरप्रमुख साहलाई मधेश प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको मालासहित दोसल्ला ओढाएर सम्मान गरिन्। साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका १२ जनालाई विभिन्न शीर्षकको मूर्खको उपाधिले सम्मान गरिएको छ।
विभिन्न शीर्षकमा मूर्खको उपाधि पाउने विशिष्ट व्यक्तिमा पत्रकार ऋषि धमला (पटमूर्ख), रत्नेश्वर लाल कर्ण (डपौर शङ्ख), महोत्तरी मठिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल (वैशाखानन्दन), नेत्री विभा ठाकुर(गणपसारी), वन कर्मचारी लालबाबु यादव (हराशङ्ख), अधिवक्ता रेखा झा (सिलौट शङ्कर) छन्। यस्तै याज्ञवल्क्य विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झा (खपसुरत), खेलाडी अरुण लाल (बज्रशङ्ख), व्यवसायी बलराम साह (ब्रजशङ्ख), पत्रकार वीरेन्द्र रमण (सोटाचन्थ), कवयत्री किरण झा ‘रश्मी’ (टुनमुसरी) तथा डा. सोनु साह (बज्रकिट) छन्।
सबै उपाधि पाउनेलाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगाएर सम्मान गरिएको थियो । समारोहमा विभिन्न कवि तथा साहित्यकारले कविता, होली तथा जोगिरा प्रस्तुत गरेका थिए।