११ कार्तिक २०८१, आईतवार
विश्वकप लिग-२ : पिएनजीलाई ५२ रनले हराउँदै नेपालको विजयी शुरुवात

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७९, बिहीबार १६:४६

काठमाडौं : आइसिसी विश्वकप लिग-२ क्रिकेटमा बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गर्दै घरेलु शृंखलाको पहिलो खेल जितेको छ। नेपालले जितका लागि दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी (पिएनजी) ले ४७ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय ४५ रनमात्र बनाउन सक्यो।

नेपाललाई जित दिलाउने क्रममा सन्दीप लामिछानेले ४ विकेट लिए। टस जितेर पिएनजीले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै आसिफ शेखको शतकको मद्दतले ४९ दशमलव  १ ओभरमा सबै विकेट गुमाएर २ सय ९८ रनको विशाल स्कोर बनाएको थियो।

ठूलो स्कोर पछ्याएको पिएनजीले राम्रो शुरुवात गरे पनि मध्यक्रम चल्न सकेन। पिएनजीको पहिलो विकेट लिन नेपालले ११ ओभरसम्म पर्खनु पर्‍यो। १२औं ओभरमा किप्लिन डोरिगा पिएनजीको कुल स्कोर ७७ रन हुँदा आउट भए। उनले ३४ बल खेलेर २६ रन बनाए। उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे।

यसपछि १४ओं ओभरमा सेसे बौ पनि ७ बलमा ३ रनमात्र बनाएर आउट भए। पिएनजीको दोस्रो विकेट खस्दा कुल स्कोर ८८ रन थियोलगत्तै १५औं ओभरमा ​पिएनजीको तेस्रो विकेटका रुपमा टोनी उरा आउट भए। ओपनिङमा आएका उनले ४४ बलमा अर्धशतकीय पाली खेल्दै व्यक्तिगत ५० रन बनाए।

पिएनजीको विकेट त्यसपछि भने २८औं ओभरमा कुल स्कोर १ सय २९ रन पुगेका वेला खस्यो। चौथो विकेटका रुपमा आउट भएका चार्ल्स अमिनीले ४३ बल खेल्दै १४ रन मात्र बनाएर दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए।

पाँचौं विकेटका रुपमा पिएनजीका हिरी हिरी ३३औं ओभरमा आउट भए। कुल स्कोर १ सय ५२ रन रहेका वेला उनी १७ बलमा ८ रन बनाएर सन्दीप लामिछानेको स्पिनको शिकार भए। लामिछानेले उनलाई बोल्ड गरे।

३३औं ओभरमा नै पिएनजीले छैटौं विकेट गुमायो। उसका खेलाडी चाड सोपर लामिछानेको बलमा नै गोल्डेन डक आउट भए। यतिवेला पिएनजीको कुल स्कोर १ सय ५२ रन थियो।

कप्तान असद भालाले ५३ बलमा ४२ रन हिर्काउँदै पिएनजीलाई जिततर्फ डोहोर्‍याउने प्रयास गरे पनि अपर्याप्त भयो। उनी पिएनजीको कुल स्कोर १ सय ५७ रन हुँदा ३५औं ओभरमा आउट भए। उनले आफ्नो पालीमा २ छक्का र २ चौका प्रहार गरे।

पिएनजीले ८औं विकेटका रुपमा राइली हेकुरे ४२औं ओभरमा आउट हुँदा कुल स्कोर १ सय ९८ रन थियो। १७ बलमा २० रन बनाएका उनी लामिछानेको बलमा विकेटकिपर आसिफ शेखले स्टम्प आउट गरे।

नवौं विकेटका रुपमा ‍आउट भएका पिएनजीका अली नाउले रनआउट हुनुअघि ५ बलको सामना गरेर २ रन बनाए। उनी ४५औं ओभरमा कुल स्कोर २ सय १७ हुँदा आउट भए।

अर्धशतकीय पाली खेलेका नोर्म्यान भानुआले पिएनजीलाई अगाडि बढाउने प्रयास गर्दै ६० रन बनाए। ५५ बलको सामना गरेका उनले आफ्नो पालीमा ४ छक्का र ३ चौका प्रहार गरे।  उनलाई करण केसीले ४८औं ओभरमा आउट गरे।

सेमो कामिया ७ बल खेल्दै ५ रनमा अविजित रहे। ​पिएनजीको अन्तिम विकेट २ सय ४५ रनमा खस्यो।नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट‚ दीपेन्द्रसिंह ऐरीले २ विकेट‚ करण केसी र कुशल मल्लले १ विकेट लिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो नै अहिलेसम्मको उच्च स्कोर हो। यसअघि नेपालले नामिबियाविरुद्ध ४७ दशमलव ४ ओभरमा २ सय ८७ रन बनाएको थियो।

नेपालका लागि आसिफ शेखले शतकीय पारी खेले। १ सय १० बल खेलेका उनले १२ चौका र २ छक्काको मद्दतमा १ सय १० रन जोडे।कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ रन बनाउँदा कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ७/७ र करण केसी ८ रन बनाएर आउट भए। सोमपाल कामी ४ रनमा अविजित रहे। त्रिकोणात्मक सिरिजमा नेपालले युएई र पिएनजीसँग २/२ खेल खेल्नेछ।

नेपालले फागुन २८ मा युएईसँग, फागुन २९ मा पपुवा न्युगिनीसँग र चैत २ मा युएईसँग अन्तिम खेल खेल्नेछ। यसअघि नेपालले युएई भ्रमणमा ३ जित निकाल्दै ६ अंक बटुल्न सफल भएको थियो।घरेलु मैदानमा हुने ४ खेल क्लिन स्विप गर्न सके नेपालले शीर्ष तीनमा रहँदै सीधै विश्वकप छनोटमा स्थान बनाउनेछ।

नेपाल ३२ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौ र ३२ खेलबाटै ३१ अंक जोडेको युएई छैटौँ स्थानमा छ।५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसकेको छ। दोस्रो स्थानको ओमानको ४४ अंक छ। ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ ।

Nabintech