१२ मंसिर २०८१, बुधबार
स्वास्थ्य संस्थामा बच्चा जन्माउनेलाई कुखुराको भाले उपहार

संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत भाले उपहार


  • सन्तोष गौतम

  • १२ चैत्र २०७९, आईतवार ०८:३१

बेनी : म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ। संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत भाले उपहार दिन थालेको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए।

‘गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौं,’ उनले भने, ‘घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको हो।’

तोकिएको मितिमा ८ पटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एक/एक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एउटा कुखुराको भाले दिने गरिएको हो। संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्चबापत दुई हजार रुपैयाँ र गर्भपरीक्षण गर्नेलाई ८ सय रुपैयाँ उपलब्ध गराउने गरेको छ। अन्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो।

पाँचवटा वडा रहेको मंगलामा वार्षिक ७०/८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन्। कुहुँ, अर्मन र बरंजा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ। नियमित गर्भ र सुत्केरी परिक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन्।

चालू आर्थिक वर्ष २०७९/८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। कार्यक्रमबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताइन्। अन्नपुर्णबाट

Nabintech