१६ कार्तिक २०८१, शुक्रबार
जमुनाह नाकामा कोरोना जाँच : २४ दिनमा ३६ जना संक्रमित फेला

रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना


  • टाइम्स संवाददाता

  • २५ चैत्र २०७९, शनिबार ०७:५९

नेपालगन्ज:भारतबाट स्वदेश फर्किदै गरेका नेपालीमा कोरोना देखिन थालेको छ । भारतमा कोरोना बढेपछि स्वदेश फर्किने नेपालीमा संक्रमण देखिएको हो । नेपालगन्ज नाकास्थित हेल्थ डेस्कमा चैत महिनाको २४ दिनमा ३६ जना संक्रमित फेला परेको ल्याव टेक्निसियन चिरन्जिवी ज्ञवालीले जानकारी दिए । चैत महिनामा दुई हजार ९ सय जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा सवैभन्दा धेरै १० चैतमा सात जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

पछिल्लो समय हरेक दिन संक्रमित फेला पर्ने गरेको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेलबहादुर ओलीले बताए । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको उनले जानकारी दिए । उनले २२ चैतमा एक, २३ चैतमा चार र २४ चैतमा दुई जनामा कोरोना पुष्टि भएको बताए । भारतको गढवाल, चेन्नाई, लखनऊ र हिमाञ्चलबाट आएका नेपालीमा कोरोना देखिएको उनको भनाई छ ।

कोरोना देखिएकाहरुमा सामान्य लक्षण देखिएको छ । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाउने गरिएकोे छ । नेपालगन्ज नाकाबाट प्रायः दाङ, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सुर्खेतका सर्वसाधारण कामका लागि भारत जाने गर्दछन् ।

Nabintech