८ मंसिर २०८१, शनिबार
आईपीएलमा मुम्बई इण्डियन्सको पहिलो जीत, दिल्ली ६ विकेटले पराजित

  • टाइम्स संवाददाता

  • २९ चैत्र २०७९, बुधबार ०७:२७

 एजेन्सी:इण्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ। अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गरेको हो। दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय इनिङ खेले। तिलक बर्माले २९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४१ रनको ईनिङ खेले। कप्तान रोहित र तिलकले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। इसान किसनले ३१ रन बनाए। दिल्लीका लागि मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलब ४ ओभरमा अलआउट भएर १७२ रन बनाएको थियो। दिल्लीका लागि ओपनर तथा कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौका सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ खेले।

अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले। छैटौँ विकेटका लागि कप्तान वार्नर र पटेलले ६७ रनको साझेदारी गरे। मनिष पान्डेले २६ तथा पृथ्वी शाले १५ रन बनाए। १९ औं ओभरमा दिल्लीले अक्षर र कप्तान वार्नर सहित ४ विकेट गुमाएपछि मुम्बईले खेलमा पुनरागमन गरेको थियो।

मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिए। रिलि मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिए। तेस्रो खेलमा पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ लिगको आठौँ स्थानमा रहेको छ। चार खेलमा अंकविहिन दिल्ली पुछारमा छ।

 

Nabintech