२० कार्तिक २०८१, मंगलवार
आज सातै प्रदेशमा पानी पर्ने, कोशी, मधेश र गण्डकीमा ‘भारी वर्षा’को सम्भावना

देशको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव


  • टाइम्स संवाददाता

  • ६ असार २०८०, बुधबार ०७:३६

काठमाडौँ:आज सातै प्रदेशमा पानी पर्ने, कोशी, मधेश र गण्डकीमा ‘भारी वर्षा’को सम्भावना आज (बुधबार) सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले (बिहान) पनि बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको नवलपुर क्षेत्र तथा लुम्बिनी प्रदेशका प्युठान गुल्मी क्षेत्रतिर पानी परिहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशखाले जनाएको छ।

काठमाडौंमा साँझपख वर्षा हुने सम्भावना
आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा साँझपख वर्षा हुने सम्भावना देखिएको हो।

‘दिनभरिलाई वर्षाको सम्भावना देखिएको छैन, साँझपख पानी पर्नसक्छ’, उनले भने, ‘तर त्यस्तो ठूलो वर्षाको सम्भावना छैन, हल्का वर्षा हुने देखिएको छ।’

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

त्यसमा भनिएको छ– देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ, बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणाली (पानी पार्ने प्रणाली) को प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

Nabintech