११ मंसिर २०८१, मंगलवार
नेपालगञ्जको ईदगाहमा सामुहिक नमाज पढेर मनाईयो बकर इद

सामुहिक नमाज सकेर घर घर पुगेका मुसलमानहरुले आ आफनो घरमा बलि अर्थात कुर्बानी दिनेछन


  • टाइम्स संवाददाता

  • १४ असार २०८०, बिहीबार ०९:०६

नेपालगञ्ज: ईस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (इद उल अजहा ) को अबसरमा नेपालगञ्ज बिपिचोक स्थित ईदगाहमा सामुहिक नमाज पडेर धुमधामले ईद मनाईएको छ ।

नेपालगञ्ज आसपासबाट सयौंको संख्यामा भेला भएका ईस्लाम धर्मका अनुयायीहरुले सामुहिक नमाज पश्चात एक आपसमा गला लागेर शुभकामना समेत साटासाट गरेका थिए ।

बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठुलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रूपमा सबल मानिसहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरूले धर्मले जायज मानेका जनावरलाई बलि कुर्बानी दिने चलन छ ।

बलि अर्थात कुर्बानी गरिएको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपत्र परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।

सामुहिक नमाज सकेर घर घर पुगेका मुसलमानहरुले आ आफनो घरमा बलि अर्थात कुर्बानी दिनेछन भने परिवारका सदस्यहरु भेला भई पर्वलाई उल्लासपुर्वक मनाउने छन ।

बकरिद ईद पर्वका निम्ति गरिने कुरबानीका लागि खरिद गरिने जनावर पूर्ण रूपमा स्वस्थ हुनुपर्छ । जनावरको आँखा, कान, खुट्टा र सिङ टुटफुट हुनु नहुने र हेर्दा पनि आकर्षक हुनुपर्छ । बिना मोलमोलाइ खरिद गरिने भएकाले कुर्बानीका लागि मानिसहरूले सके घरका सबै मानिसहरूको नाममा नभए घरको अभिभावकका नामबाट कुर्बानी गर्ने चलन छ ।

ठुलो जनावरमा ”राँगा, भैँसी, ऊँटजस्ता जनावर” हलाल गरिन्छ त्यसमा सात जना मिलेर कुर्बानी गर्नुपर्छ भने साना जनावर जस्तै, खसी, बहिला बाख्रा, दुम्बा भने एकै जनाले कुर्बानी गर्नुपर्छ । कतिपय मानिसहरूले मृतात्मा (बुबा, हजुर बाबुआमा, पत्नी वा पति)  को सम्झनामा कुर्बानी दिने गर्दछन् ।

Nabintech