७ मंसिर २०८१, शुक्रबार
गजल – साथी आगो त भेटेकै छैन

  • तेजनाथ दंगाल

  • २७ श्रावण २०८०, शनिबार ०७:११

केबल धुवाँ मात्र उड्छ साथी आगो त भेटेकै छैन
सर्वत्र  खरानीले  छोपी सक्यो तैपनी  चेतेकै छैन ।

अँध्यारो नै खोज्न थाले आजकाल मानिसहरूले
हरेक बिहान  क्षितिजमा उज्यालो त देखेकै छैन ।

द्रव्य बाहेक यो लोकमा कसैले केही देख्दै देखेन
लोभको मशानघाट बाहेक अरू त  टेकेकै छैन ।

हरदिन  इतिहास  रुन्छ विगतलाई सम्झेर
सुनौलो इतिहास बनाउन मति फेरेकै  छैन ।

गल्ती गर्नु गरिएछ अध्यारोलाई उज्यालो ठानेर
चाँदनीकाे  उज्ज्यालो रहेछ दियो त बलेकै छैन ।

गाउँ गाउँमा चेतनाका चम्किला बीउ छर्नेहरू
कता हराए आजकाल पुराना डोब मेटेकै छैन ।

कोमल मनहरूमा सर्वत्र खडेरी  परिसके छन्
अ‌ाँशुका दहहरू देखिन्छन्  कष्ट त झेलेकै छैन ।

Nabintech