१० मंसिर २०८१, सोमबार
८ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सिक्टा सिँचाइ आयोजना १८ वर्ष बित्दा पनि अधुरै

आयोजना सुरु भएको १८ वर्षमा १८ अर्ब ३५ करोड रुपैयाँ खर्च


  • टाइम्स संवाददाता

  • २७ श्रावण २०८०, शनिबार १५:१८

नेपालगन्ज: बाँकेमा आयोजना सुरु भएको १८ वर्षमा १८ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको देखिएको छ । आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १८ वर्ष बित्दा पनि अझै अधुरै छ । आयोजनाको लागत ५२ अर्ब ६४ करोड पुग्ने अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि बाँकेका १७ हजार घरधुरीका ४ लाख कृषक लाभान्वित हुने भनिएको छ  । पूर्वी नहरको ८६ प्रतिशत निर्माण सम्पन्न भएको आयोजना बताउँछ ।

राप्ती नदीको पानीले बाँकेको ४२ हजार ७ सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन २०६२/६३ मा सुरु गरिएको सिक्टा सिँचाइ आयोजना यतिबेला पनि पुरा हुन सकेको छैन । राप्ती सोनारी गाउँपालिकाको अगैयामा ३ सय १७ मिटर ब्यारेज निर्माण गरी राप्ती नदी पश्चिमतर्फ ३३ हजार ७ सय ६६ र पूर्वी भेगको ९ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य छ ।

अहिले अगैयादेखि पश्चिम जेठी नालासम्म ५० क्युमिक क्षमताको ४५ किलोमिटर मूल नहरमा १० क्युमिक र १४ क्युमिक क्षमताको ४४ किलोमिटर पूर्वी नहरमध्ये २४ किमिसम्म ७ क्युमिक पानी सञ्चालन भइरहेको छ । यस वर्षदेखि पश्चिम मूल नहरअन्तर्गत १९ हजार हेक्टरमा सिँचाइ पुगेको छ । नहरको पूर्वपट्टि ४ हजार २ सय हेक्टरमा सिँचाइको पानी पुगेको हो । नहरमा पानी चल्दा किसानलाई राहत पुगेको राप्ती सोनारीका मनिराम थारू बताउँछन ।

पूर्वी नहरको केही खण्ड निकै गहिरो र पहिरो जान सक्ने जोखिमसमेत भएकाले बायोइन्जिनियरिङ तथा स्लोप स्टेपलाइजेसनको काम गर्दै पानी सञ्चालन गरिरहेको आयोजनाका डिभिजन इन्जिनियर रणधीर झाले बताए । पश्चिमी मूल नहरका शाखा, प्रशाखा तथा खेतस्तरका संरचना निर्माण हुन बाँकी भएकाले क्षमताअनुसार ५० क्युमिक पानी सञ्चालन गर्न अझै १० वर्ष लाग्ने अनुमान आयोजनाको छ । पश्चिमतर्फको सिधनिया शाखा नहरको १९.६ किमिमध्ये १२.९ किमि निर्माण भएको छ । उक्त शाखाबाट २ हजार १ सय हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य छ ।

सिँचाइ महासंघका जिल्ला अध्यक्ष शालिकराम डाँगीका अनुसार उत्तरी क्षेत्रमा बोरिङ गरेर काम भइरहेको छ । डुडुवाको पश्चिम नहरको १६ हजार हेक्टरमा अझै काम हुन सकेको छैन । नरैनापुरमा जग्गा विवादले नहरको काम अगाडि बढ्न सकेको छैन । ‘नरैनापुर–५ सम्म मात्रै नहरबाट सिँचाइ भइरहेको छ,’ उनले भने, ‘तर, अझै शाखा बन्न सकेको छैन । स्थानीयले पानी जाने ठाउँमा जग्गा नदिँदा जंगलको छेउबाट लैजान समस्या भएको हो ।’ नरैनापुर–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले आफ्नो वडाबाहेक नरैनापुरमा पानी नपुगेको बताए । उनका अनुसार बर्खा लागेयता निर्माणको कामै रोकिएको छ ।

Nabintech