कालीकोट: कालीकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथरालीमा ४ दशक लगाएर निर्माण गरिएको विमानस्थल उद्घाटन तयारी गरिएको छ। भदौ १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विमानस्थल उद्घाटन गर्ने कार्यतालिका छ। नरहरिनाथ गाउँपलिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्टले भदौ १३ गते उद्घाटनको तयारी भएको बताए।
‘१३ गते उद्घाटन गर्ने तयारीमा रहेका छौँ। मौसम कस्तो हुन्छ,’ गाउँपालिका अध्यक्ष विष्टले भने, ‘जिल्लाका माननीय (सांसद)सँग छलफल गरिरहेका छौँ।’ २०७३ माघ २९ गते परीक्षण उडान भए पनि विमानस्थलमा नियमित उडान भएको छैन। कांग्रेस नेता जीवनबहादुर शाही पर्यटनमन्त्री हुँदा परीक्षण उडान भएको थियो।
विमानस्थल निर्माणमा ४२ करोडभन्दा बढी खर्च भएको छ। यहाँ ६ सय ९० मिटर लामो धावनमार्ग छ। यहाँ सदरमुकाम मान्मबाट तीन घण्टामा पुगिन्छ। ‘विमानस्थल उद्घाटन गर्ने तयारी भए पनि नियमित उडान हुने टुंगो छैन,’ विष्टले भने, ‘मैले नियमित उडान हुने निश्चित गरेरमात्रै उद्घाटन गर्नुपर्छ भनेको छु।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले मौसम राम्रो नभएकाले तत्काल उद्घाटन हुने निश्चित नभएको बताए। ‘विमानस्थल निर्माण भइसकेको छ। परीक्षण उडान गर्न बाँकी छ,’ निरौलाले भने, ‘परीक्षण उडानपछि मात्रै नियमित उडानबारे टुंगो हुन्छ।’
२०४२ सालबाट कोटवाडाको सुनथरालीमा विमानस्थल बन्न सुरु भएको थियो। सुनथराली विमानस्थल कालीकोटका बासिन्दाको सडकभन्दा पुरानो सपना पूरा हुन सकेको छैन।