ललितपुर : शनिबार (आज) १५ औँ गिद्ध सचेतना दिवस मनाइँदै छ। हरेक वर्ष सेप्टेम्बरको पहिलो शनिबार यो दिवस मनाउने गरिन्छ। गिद्धको महत्त्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउन विश्वभर यो दिवस मनाइन्छ। दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम एक सातादेखि आयोजना भएको छ।
पाल्पा जिल्लाको ’रामपुर महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र’ लगायत विभिन्न गिद्ध पाइने स्थानबाट गिद्ध गणना भइरहेको छ। यस्तै पोखरा पन्छी समाजले कास्की र तनहुँ जिल्लामा पनि गणना कार्यक्रम गरिरहेको छ। यस्तै पश्चिम नेपालका जिल्लाहरू नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, अर्घाखाँचीमा पनि गणना भइरहेको छ।
दिवसका अवसरमा सचेतनामूलक र्याली‚ क्याम्पस तथा विद्यालय स्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरू, गिद्ध तस्बिर तथा चित्रकला प्रदर्शनी, गिद्ध महोत्सव, सडक नाटक, अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदै छ।
दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तरराष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो।
पछिल्ला दशकहरूमा गिद्ध संसारमा सबैभन्दा बढी ह्रास हुँदै गएर लोप हुने अवस्थामा पुगेको पक्षी मानिन्छ। सन् १९८५ नेपालमा ५ लाखको संख्यामा रहेका गिद्ध अहिले २० देखि २५ हजारको संख्यामा रहेको आइयुसियन गिद्ध विज्ञ समूहका गिद्ध संरक्षणकर्मी कृष्ण भुषालले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय नेपालमा गिद्धको संख्या घट्ने दरमा कमी आएको पाइएको छ। चितवनदेखि पश्चिमका तराई जिल्ला र पूर्वमा कोशी टप्पु वन्यजन्तु आरक्षमा गिद्ध पाइन्छ। शिकारी चरा समूहअन्तर्गत पर्ने ठूला मांसाहारी पंक्षी हो। यिनले आफैं शिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो मात्र खाने गर्छन्।
मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ।
गिद्धहरूले विभिन्न हानिकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन्। पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो।
गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको संख्या बढ्छ। फलस्वरूप मानिसमा रेबिज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोग फैलिन सक्छन् भने पशुचौपायामा एन्थ्रेक्स‚ ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगको संक्रमणले महामारीको रूप लिन सक्छ। गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्त्व पनि छ।
हिन्दू धर्ममा गिद्धलाई शनिको वाहनको रूपमा पुजिन्छ। रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन जटायुले अन्तिम सास रहुन्जेल लडेको उल्लेख छ।
नेपालको हिमाली क्षेत्रमा बस्ने समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन्।
तसर्थ गिद्ध खाद्य शृङ्खलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्त्वपूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो।
विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा ९ प्रजाति छन्। तीमध्ये ९ प्रजातिका गिद्ध नेपालमा पाइन्छन्। एउटै सिनो र वासस्थानलाई विभिन्न प्रजातिहरू सामूहिक उपयोग गर्ने गिद्धहरू अग्ला बलिया रूख र चट्टानी पहरामा गुँड बनाई मानवबस्ती वरपर बस्न रुचाउँछन्।
सन् १९९० को मध्यदेखि दक्षिण एशियामा गिद्धको संख्यामा यसरी अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो।
पशुमा सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा वा ७ दिनभित्र मरेमा डाइक्लोफेनेकको विषाक्तपन उक्त पशुको सिनो खाने गिद्धको शरीरमा मासुसँगै सर्छ।
जसले रगतमा युरिक एसिडको मात्रा बढाई भिसरल गाउट गराउँछ र मृगौलाले ‘युरिक एसिड’ छान्न सक्दैन। फलस्वरूप गिद्ध केही दिनमै मर्छ।
गिद्धहरू समूहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट पनि ठूलो संख्यामा मर्छन्। ३० मिलीको एक भाएल डाइक्लोफेनेक प्रयोग गरिएको एउटै सिनोबाट मात्र पनि ३५० देखि ८ सय गिद्ध मर्ने भएकाले यो औषधि गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो।
यसका साथै अरू सहायक कारण वासस्थानको विनाश आहारामा कमी, अन्य विषादीको बढ्दो प्रयोग तथा अन्य शिकार गरेका मांसाहारी जनावरलाई लक्षित गरी सिनोमा विष राख्दिनाले र अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युत तार आदिले पनि जीवित सानो संख्यामा रहेका गिद्धलाई झन् संकटमा परेको संरक्षणकर्मी भुषालले बताए।
गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र विक्रीमा प्रतिबन्ध लगाएको छ। त्यसको विकल्पमा गिद्ध, अरू चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण शुरु गरेको छ।
नेपालमा गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तू संरक्षण विभागले पञ्चवर्षीय गिद्ध संरक्षण कार्ययोजना ल्याएको छ। यसको बजेट ११ करोड रहेको छ।