९ मंसिर २०८१, आईतवार
सोलार तारवारले वर्दिया मधुवनका किसानलाई मिलेको यो खुशि

सोलर विद्युतीय तार बार गरेपछि राम्रोसँग सुत्न र बाली भित्र्याउन पाएको किसानको भनाई


  • सरला सुवेदी

  • २२ कार्तिक २०८०, बुधबार १०:३४

बाँके:  मधुवन नगरपालिका-२, रजवारा गाउँमा मानव हात्ती सह–अस्तित्वका लागि मौसमी सोलार विद्युतीय तारबार लगाउँदा स्थानीय कृषकले यस वर्ष धानबाली भित्र्याउन पाउँदा खुसी भएका छन् । झन्डै चार महिना अघि विभिन्न संघ संस्थाको आर्थिक सहयोग तथा स्थानीय बासिन्दाको जनश्रमदानमा जङ्गली हात्तीबाट अन्नबालीको क्षति रोक्न जङ्गल तथा खेत किनारमा मौसमी सोलार विद्युतीय तारबार लगाउँदा गाउँमा हात्ती आउने क्रम घटेपछि यस वर्ष अन्नबाली भित्र्याउन पाउँदा कृषकहरू खुसी भएका स्थानीय हाउ थारूले जानकारी दिनुभयो ।

विशेष गरि धान र गहुँ खेतीको समयमा जङ्गली हात्तीले खेतमा लगाएको अन्नबालीमा क्षति नगरोस् भन्ने उद्देश्यले जङ्गली हात्ती प्रभावित क्षेत्र मधुवन नगरपालिका वडा नम्बर २ रजवारा गाउँमा मौसमी सोलार विद्युतीय तारबार लगाइएको बर्दिया निकुञ्जका पूर्व वार्डेन तथा उज्यालो नेपाल हात्ती मेरो साथीका अभियन्ता रमेश कुमार थापाले बताउनुभयो ।

निकुञ्ज तथा सामुदायिक वन किनारमा धेरै पहिलेदेखि विद्युतीय तारबार लगाइएकोमा यस पटक कम लगानीमा स्थानीय बाँसको प्रयोबाट केही फरक ढंगबाट हात्ती प्रभावित देश फ्रान्स र म्यानमारमा प्रयोग भएको सजिलो र नौलो अभ्यास नमुनाका रूपमा रजवारा गाउँमा विद्युतीय सोलार तारबार गरिएको उहाँले बताउनुभयो ।

जङ्गली हात्तीलाई गाउँ बस्तीमा आउन नदिनका लागि जङ्गल तथा खेत किनारमा लगाएको विद्युतीय तारमा सौर्य बत्तीबाट जडित करेन्ट प्रवाह हुने गरी इनरजाइजर मेसिन मार्फत ऊर्जा पठाई जङ्गली हात्ती, गैँडा लगायतका वन्यजन्तुले तार छोएमा झड्का दिई तर्साउने गर्दछ भने हरेक १.५ सेकेन्डमा तारमा विद्युतीय झड्का आउने गर्दछ हात्ती मेरो साथी अभियानका अभियन्ता थापाले भन्नुभयो ।

उज्यालो नेपालद्वारा सञ्चालित हात्ती मेरो साथी अभियान अन्तर्गत युएसफिस एन्ड वाइल्डलाइफ सर्भिसको सहयोग कम्पास फिल्म फ्रान्स र जिबिजी म्यानमारको प्राविधिक सहयोगमा जङ्गली हात्तीबाट अति प्रभावित क्षेत्र रजवारा गाउँमा २ प्रकारको विद्युतीय तार बार लगाइएको छ । स्थानीय स्रोतसाधन बाँसको प्रयोग गरी २५ बिघा र जिआई पाइपको प्रयोग गरी ५० बिघा गरी झन्डै ७५ बिघा खेतीयोग्य जग्गामा जङ्गली हात्ती आउन नदिनका लागि सोलर विद्युतीय तारबार लगाइएको छ ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष खेतीयोग्य जग्गासँगै आधा गाउँ पनि जङ्गली हात्तीबाट सुरक्षित भएको छ, गाउँ किनारको जङ्गल र खेत किनारमा दुईवटा ब्लक बनाएर विद्युतीय तारबार लगाइएको छ । “कहिलेकाहीँ जङ्गल तथा गाउँ किनारमा जङ्गली हात्ती आउँदा गाउँभरिका स्थानीयलाई हात्ती अर्लाम मार्फत सूचना जानकारी दिएपछि स्थानीयहरू ग्रुपमा बसेर टर्च बालेर होहल्ला गर्नु परे पनि विगतका वर्षमा जस्तो दिनहुँ रातभर जाग्राम बस्नु परेको छैन “स्थानीय हाउ थारुले भन्नुभयो ।

“पहिले जङ्गल किनारमा विद्युतीय तार बार नहुँदा जङ्गली हात्ती गाउँमा आएपछि धपाउनका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता थियो, अहिले सोलर विद्युतीय तार बार गरेपछि राम्रोसँग सुत्न र बाली भित्र्याउन पाएका छौ, यसैमा हामी खुसी छौँ । यस वर्षको धान बाली हात्तीबाट नोक्सानी हुन पाएन, राम्रोसँग भित्र्याउन पायौँ” उहाँले भन्नुभयो ।

मधुवन नगरपालिका, बर्दिया निकुञ्ज, डिभिजन वन कार्यालय, खाता समन्वय समिति, वडा नम्बर ३ को कार्यालय तथा उज्यालो नेपालको संयुक्त सहकार्यमा र स्थानीय समुदायको श्रमदानबाट विद्युतीय सोलर तार बार निर्माण गरिएको हो । खेतीको समय सकिएपछि विद्युतीय तार झिक्न मिल्ने र खेतीको समयमा पुनः प्रयोग गर्न सकिने जनाइएको छ ।

बर्दिया निकुञ्ज, राष्ट्रिय वन तथा खाता जैविक मार्गको जङ्गलसँग जोडिएको मधुवन नगरपालिकाको रजवारा गाउँमा पर्ने सडक किनारको जङ्गल छेउछाउ झन्डै ३ किलोमिटर तथा खेतीयोग्य जग्गा छेउछाउ ३ किलोमिटर गरी दुई वटा ब्लकमा विद्युतीय सोलर तारबार निर्माण हुँदा जङ्गली हात्ती, गैँडा लगायतका वन्यजन्तुबाट यस वर्ष कम क्षति भएको पाइएको छ ।

झन्डै ४ फिट अग्लो विद्युतीय सोलर तारबारले जङ्गली हात्ती लगायतका वन्यजन्तु बाहिर आउन नसक्ने तथा सोलर विद्युत् झड्काले वन्यजन्तु तर्सने भाग्ने भएकाले तारबार अत्यन्त प्रभावकारी रहेको र छेकबार निर्माणसंगै गाउँबासीका अन्नबाली सुरक्षित भएको स्थानीयले बताएका छन् ।

news.jpg

नमुनाका रूपमा जङ्गली हात्ती प्रभावित क्षेत्र रजवारा गाउँमा सुरु गरिएको विद्युतीय सोलर तारबार सफल देखिएमा आगामी वर्ष अन्यत्र हात्ती प्रभावित क्षेत्रमा पनि यस्तै किसिमको विद्युतीय तारबार गर्ने तर्फ योजना बनाउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

विगतका वर्षहरूमा रजवारा गाउँमा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन अन्तर्गतका जङ्गल भित्रबाट बाहिर आएका जङ्गली हात्ती, गैँडा, बँदेल, चित्तल लगायतका जङ्गली जनावर गाउँमा आएर स्थानीयको बालीनाली नोक्सान, घर गोठ भत्काउनुका साथै स्थानीयको ज्यानसमेत लिने गरेको तथा जनावरहरू गाउँ पस्दा जनावरसमेत असुरक्षित हुने गरेका छन् ।

यस्तै खालको प्रविधि विशेष गरी जङ्गली हात्ती प्रभावित बर्दिया निकुञ्ज तथा सामुदायिक वन किनारमा पर्ने मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका क्षेत्रका विभिन्न गाउँ बस्ती किनारमा पनि लगाउनु पर्ने स्थानीय बासीन्दाले माग गरेका छन् ।

Nabintech