८ मंसिर २०८१, शनिबार
एसइईमा३५ प्रतिशत भन्दा कम ल्याए विद्यार्थीहरू फेल हुने

किन ल्याइयो लेटर ग्रेडिङ ?


  • टाइम्स संवाददाता

  • ९ माघ २०८०, मंगलवार २०:२४

काठमाडौँ : सरकारले नयाँ लेटर ग्रेडिङ निर्देशिका जारी गरेको २ वर्षपछि एसइईमा ‘नन ग्रेडेड’ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने जनाएको छ।

परीक्षा बोर्डले २०७८ सालअघि ९ वटा तहमा विद्यार्थीको ग्रेडिङ गर्थ्यो। नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू भएकोमा लेटर ग्रेडिङ निर्देशिका २०७८ मा ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ गरिने भनिएको थियो। विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकामा गरिएको थियो।

यो लागू भने भएन। अघिल्लो वर्षमा पनि यसबारे अन्योल थियो। बोर्डले अन्तिममा एसइईको नतिजा सार्वजनिक गर्ने वेला कोभिडको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको जनाएको थियो।

यो वर्षको एसइईमा कम्तीमा ३५ प्रतिशत ल्याउनुपर्ने र कम ल्याएमा नन ग्रेडेड हुने राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले जानकारी दिए। उनका अनुसार पास हुन सबै विषयमा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने छ।

बोर्डले यो लागू गर्ने भनिरहँदा अझै कतिपय विद्यार्थी र अभिभावकलाई ३५ प्रतिशत भनेको पास हुनलाई कति अंक ल्याउनुपर्ने हो भनी जिज्ञासा राख्ने गरेका छन्। बोर्डका प्रशासन महाशाखा प्रमुख अर्यालले ३५ प्रतिशत भनेको १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ। नल्याए फेल हुने बोर्डले बताएको छ।

ग्रेडिङ प्रणालीमा के कति ?

विद्यालय शिक्षा (कक्षा १–१२) मा लेटर ग्रेडिङ लागू गर्न विभिन्न ग्रेड निर्धारण गरिएको छ। ९० र सोभन्दा माथि ४.० सर्वोत्तम, ८० र सोभन्दा माथि ९० भन्दा कम प्रतिशत ३.६ अत्युत्तम, ७० र सोभन्दा माथि ८० भन्दा कम ३.२ उत्कृष्ट ग्रेड निर्धारण गरिएको छ।

६० र सोभन्दा माथि ७० भन्दा कम २.८ उत्तम, ५० र सोभन्दा माथि ६० भन्दा कम २.४ सन्तोषजनक, ४० र सोभन्दा माथि ५० भन्दा कम २.० ग्राह्य, ३५ र सोभन्दा माथि ४० भन्दा कम प्रतिशत १.६ आधारभूत र ३५ भन्दा कम अवर्गीकृतमा ग्रेड निर्धारण गरिएको छ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा ८, कक्षा १० र कक्षा १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछ।

तीनपटकसम्म मौका परीक्षा हुने

बोर्डका प्रशासन महाशाखा प्रमुख अर्यालका अनुसार परीक्षामा सबै विषयमा ३५ प्रतिशतभन्दा बढी ल्याउनुपर्ने छ। कम ल्याएमा माथिल्लो तहमा पढ्न नपाइने उनले जानकारी दिए। फेल भएकाहरूको हकमा ३ पटकसम्म मौका परीक्षा दिन पाइने उनको भनाइ छ।

निर्देशिकाअनुसार मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थी ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउने छन्। ग्रेड वृद्धि परीक्षामा संलग्न हुने तथा आन्तरिक मूल्यांकनमा सहभागी भई बाह्य मूल्यांकनमा संलग्न हुन नसकेका विद्यार्थीको हकमा आन्तरिक तथा प्रयोगात्मक मूल्यांकनको अंक ३ वर्षसम्म कायम रहने व्यवस्था गरिएको छ।

यो वर्षको एसइई परीक्षा आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक भएको छ। परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

किन ल्याइयो लेटर ग्रेडिङ ?

लेटर ग्रेडिङ भन्नाले तोकिएको सक्षमताको मूल्यांकनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति हो। विद्यालय शिक्षामा लेटर ग्रेडिङ कार्यान्वयनको विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाइ उपलब्धिको मापनबाट प्राप्त अंकगत स्तरलाई ८ ओटा अक्षरगत स्तरमा सूचित गर्न विद्यालय शिक्षामा लेटर ग्रेडिङ कार्यान्वयनमा ल्याएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

त्यसैगरी शैक्षिक क्षति न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्द्धन गर्ने, एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाइका अवसर प्रदान गर्ने उद्देश्यले यो लेटर ग्रेडिङ ल्याएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा अरू देश र यहाँको अवस्था हेरेर शिक्षाको स्तरलाई व्यवस्थित गर्न साथै अरू देशसँग पनि हाम्रा विद्यार्थी उत्पादन गरी उनीहरूले अन्तर्राष्ट्रिय तहमा पनि स्तर कायम गर्न यो ग्रेडिङ प्रणाली लागू गरिएको बताउँछन्।

उनका अनुसार अरू देशमा ५० देखि ६० प्रतिशत कम ल्याउन नपाउने व्यवस्था छ। हाम्रोमा सबै विषयमा ३५ प्रतिशत मात्र अंक ल्याए नन ग्रेडेड र माथिलाई मात्रै ग्रेडिङ दिने व्यवस्था गरिएको छ। ‘यो सबै विज्ञहरूको सल्लाह सुझावको आधारमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव सुझावको आधारमा सरकारले व्यवस्था गरेको हो’‚ उनले भने।

Nabintech