पाल्पा : कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो, पाल्पाको पर्यटकीय गन्तव्य रामपुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो ।
लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो ।
विकास अभावका कारण जिल्ला सदरमुकाम तानसेनबाट दुर्गमको निशानामा पर्थ्यो । रामपुर ठूला सहरसँग जोडिएला भन्ने स्थानीयवासीको कल्पना पनि थिएन ।
बत्तीमुनिको अँध्यारोमा रहेको रामपुर अहिले देशकै ठूला सहरसँग सिधा सडकमार्गले जोडेपछि आशालाग्दो र भविष्यमा मुलुककै नमुना पर्यटकीय सहर बन्ने सम्भावना बोकेको छ । सडक सुविधा पुगेपछि बस्ती बाक्लिदै गयो, व्यापार व्यावसाय धमाधम खुल्न थाले । रामपुर कस्तो होला भन्ने कौतुहलता सबैमा थियो तर आउने वातावरण बनेको थिएन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि रामपुरमा पर्यटक भित्रिन थालेका छन् । विभिन्न ठाउँ–ठाउँबाट घुमघाम गर्न आउनेको चहलपहल देखिन्छ ।