पाल्पा : पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् ।
अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले सास्ती बेहोर्नु परेको गुनासो बढेको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीले समयै ल्याब रिपोर्ट नपाउने, समयमै उपचार नपाउने तथा कर्मचारीबाट राम्रो व्यवहार पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालले दिने सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा कतिपय बिरामीले अनावश्यक झन्झट बेहोर्नु परेको छ ।
दिनहुँ अस्पतालमा आउने पाँच सय बिरामीमध्ये दुई सय बिरामीको उपचार अस्पतालले गरिरहेको छ । अन्य तीन सय बिरामी अन्य अस्पतालमा उपचार गर्न प्रेषणका लागि आउने गरेका छन् । पछिल्लो समय अस्पतालमा आउने बिरामीले समयमै उपचार नपाएको, टिकट लिन अप्ठेरो बनेको, ल्याब टेस्टका रिपोर्ट समयमै नपाएको गुनासो गर्दै आएका छन् ।