कोहलपुर : आफूसँगै भएको नाइट्रोजनको स्रोत गोठेमललाई सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन् । यससँगै रासायनिक मल खरिदका लागि बर्सेनि ठुलो परिमाणमा नेपाली पैसा बिदेसिने गरेको छ । गोठेमलको स्रोतमा गोबरलाई बढी लिने प्रचलन किसानमा छ । तर गोठेमलबारे अनुसन्धान गरिरहनुभएका कृषि प्रचार अधिकृत कृष्ण धितालले पशुको गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहने बताउनुभयो ।
गाईभैँसीलाई खुवाएको दाना र घाँसमा रहेको नाइट्रोजनमध्ये २० प्रतिशत मात्रै उसको शरीरमा प्रयोग हुने र बाँकी पिसाब र गोबरबाट आउने गर्छ । त्यसमध्ये ५२ प्रतिशत भने पिसाबबाट बाहिर आउने गर्छ । एउटा गाईभैँसीले दैनिक कम्तीमा छ लिटर पिसाब फेर्ने गर्छ । एउटा किसानको घरमा दुई वटा ठुला पशु छन् भने वार्षिक चार हजार ३८० लिटर पिसाब फेर्छन् । एक वर्षमा सो मूत्र प्रयोग गर्दा १३६ किलो युरिया र ८० किलो नाइट्रोजन पाउन सकिन्छ । यो अहिलेको बजार भाउमा छ हजार रुपियाँभन्दा धेरै हुने उहाँले बताउनुभयो ।
वरिष्ठ बाली विकास अधिकृत कुलप्रसाद दवाडीले परापूर्वकालदेखि नै गोठेमललाई महत्व नदिएकै कारण यसलाई जथाभाबी राख्ने, त्यसमा भएका खाद्यतत्वको संरक्षण एवं सदुपयोगको ज्ञान, सिप अभावले नेपाली किसान वार्षिक ठुलो आर्थिक घाटा बेहोर्न बाध्य भएको बताउनुभयो ।