२ माघ २०८१, बुधबार
आज बेलुका देखि वर्षा कम हुँदै जाने

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०८१, शनिबार १५:०८

कोहलपुर  :  तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने  जानकारी दिए ।

“आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ”,  उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने  उनको भनाई छ ।
“बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ”, पराजुलीले भने , “पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।” नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको  उनको भनाई छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ ।

शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।

पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ । “कहीँ त्यो भन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ”, प्रमुख पराजुलीले  भने ।

चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ । शाखाले वेभसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ

Nabintech