६ मंसिर २०८१, बिहीबार
पिएसबीको अध्यक्ष बन्न को को तम्सिदै ? शक्ति केन्द्रको घरदैलोदेखि अखण्ड यज्ञसम्म !

  • टाइम्स संवाददाता

  • ६ मंसिर २०८१, बिहीबार १७:३०

काठमाडौं –  रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर बनाइएको सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) को अध्यक्षमा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेन्द्र विष्टको नाम पक्कापक्की रहेको कुरा संचार सचिव राधिका अर्यालले प्रकट गरिदिएपछि मन्त्रालयका कर्मचारीहरूबीच गोपनीयता भङ्ग भएको चर्चा सुनिदैछ । अर्याल उक्त पदको सिफारिस समितिमा पदेन सदस्य छन् भने विज्ञ सदस्यमा पत्रकार रघु मैनाली । अध्यक्षता भने लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी आफैंले गरेका छन् । २०८१ कार्तिक २५ गतेदेखि सिफारिस समितिको कार्यविधि तर्जुमा बैठकहरूमै सचिव अर्यालले रेडियो र टेलिभिजनको विशेषज्ञ विष्ट नै भएको र सरकारी लाइन पनि त्यही भएको भन्ने प्रकट गरेपछि मन्त्रालयका उच्च अधिकारीहरू अवाक् बनेको चर्चा छ । विष्ट प्रधानमन्त्री केपी ओलीको वर्तमान कार्यकालको प्रेस सल्लाहकार बन्न चाहेका थिए । तर ओलीबाट उनी मात्रै होइन कसैलाई पनि प्रेस सल्लाहकार राखिएको छैन ।

विष्ट पत्रकार महासंघमा अध्यक्ष भएदेखि नै कीर्तिमानी हुन् । हरेक राजनीतिक नियुक्तिमा पटकपटक अवसर पाएका उनको विगतको नियुक्ति कार्य कीर्तिमानको क्लाइमेक्स नै थियो । उनी नेपाल टेलिभिजनमा कार्यकारी अध्यक्ष भएपछि संचालनमा रहेका एनालग ट्रान्समिटर फ्यालेर डिजिटल ट्रान्समिटर राखेको भन्दै देशका सबै १९ वटै टावरको प्रसारण बन्द गराएका थिए । जनताले निशुल्क टीभी हेर्नबाट बञ्चित गर्ने डिजिटाइजेशनलाई हालका कार्यकारी अध्यक्ष समिर जङ शाह र महाप्रबन्धक फूलमान बलले पूर्णता दिएका छन् । ती सबै टावर बन्द गरी सबै कर्मचारीलाई सिंहदरबारस्थित केन्द्रीय कार्यालयमा सार्ने काम २०८१ साउन १ गतेदेखि शाह र बलको नेतृत्वले गरेको छ । १९ वटा टावरको लागि डिजिटल ट्रान्समिटरमा २१ करोड र जेनेरेटरको लागि ६ करोड खर्च गरिएको थियो । निशुल्क हेरिरहेको टीभी डिजिटाइजेशन र एचडीको नाममा बन्द गर्दा सर्वसाधारण जनता टीभी हेर्नबाट बञ्चित भएका छन् । एनटीभी हेर्ने गरेका अधिकाँश ठाउँमा केवल पनि छैन ।

स्याटालाइट ब्याण्डविथ भाडामा लिंदा गरिएको घोटाला रोक्न महाप्रबन्धक गोविन्द रोका संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन विपरीत थाइकम र एपिस्टार कम्पनीसँग १३ वर्षे बिना टेण्डरको अमानत कामलाई विष्टकै कार्यकालमा निरन्तरता र वैधता दिइएको थियो । जसका कारण बजार भाउभन्दा करोडौं महँगो भाडा नेपाल सरकारलाई तिराइएको थियो । साढे ४ करोड ग्राफिक्स सिस्टमले १ रुपैयाँको पनि काम नगरेको एनटीभीका पत्रकारहरु बताउछन् । बरू दुई वटा चुनावमा भारतबाट उपकरण र मानिस ल्याएर अलग्गै काम लगाउँदा करिब ५० करोड खर्च भएको स्रोतको दावी छ । अटोमेशन, इटहरी च्यानल र कोहलपुर च्यानलको त लेखाजोखा नै छैन । अख्तियारमा उजुरी परेपनि कुनै छानबिन हुँदैन ।

अर्का विवादास्पद र नक्कली बैंक ग्यारेण्टी घोटालामा १७ पटक सदर गरेका लक्ष्मण हुमागाई पनि पिएसबीको अध्यक्ष बन्ने दाउमा रहेको चर्चा छ । रेडियोका पूर्व प्रमुख बुद्धिबहादुर केसी, हालका अमरध्वज लामा, रामायण दर्शनका अभियन्ता भुवन भट्ट लगायतका व्यक्तिहरू दरखास्त हाल्न कस्सिएको चर्चा पनि छ । मन्त्री पीएस गुरुङ भने टेस्टेड र विवादास्पदहरूभन्दा पनि फ्रेस र हाइटेकवाला व्यक्तिको खोजीमा रहेको निकटस्थहरू बताउँछन् । प्रधानमन्त्री ओलीले भने दुईमध्ये एक झापालीलाई पिएसबी जिम्मा लगाउन सक्ने अनुमान प्रेस चौतारीका नेताहरुको दावी छ । ती दुईमा गोपाल खनाल र अर्को एकजना काण्डवाला कथित पत्रकार रहेको बताइन्छ । ती कथित पत्रकारलाई रेडियो नेपालमा प्रमुख बनाउने चाहना यसअघि नै प्रधानमन्त्रीको रहेकोमा ३ जनामै नपरेपछि मन्त्रीको आफन्त अनिता गुरुङ र दीपक ज्ञवालीलाई हटाएर अमरध्वज लामालाई रेडियोको प्रमुख बनाइएको थियो ।

स्नातक गरेको जसले पनि पिएसबीमा दरखास्त हाल्न पाउने व्यवस्था ऐनमा छ । ३० दिनभित्र सिफारिसको काम गरिसक्नु पर्ने ऐनले तोकेको छ । त्यसैले तिहारअगाडिदेखि नै कार्यविधि बनाएपनि कार्तिक ३० गतेको बैठकबाट पारित भएको देखाई २०८१ मंसिर १ गते सूचना प्रकाशन गरिएको छ । दर्खास्त धेरै परेपनि अल्पसूचीबाट थोरैमा झारेर प्रस्तुतिकरणमा बोलाउने तयारी गरिएको छ । बहालवाला सरकारी र निजी सबैले राजीनामापत्र पेस गर्नु पर्ने व्यवस्थाले जागिरेहरू पहिल्यै बाहिरिएका छन् ।

नेपाल टेलिभिजनका समिर जङ शाहले अन्तरिम आदेशको भरमा संस्था लथालिङ्ग पारी सरकारलाई नटेरी समानान्तर सरकारको शैलीमा हिंडेको र महाप्रबन्धक फुलमान बल पनि उनैसँग मिलेको थाहा पाएपछि अघिल्लो संचार मन्त्री रेखा शर्मा र हालका गुरुङले नयाँ ऐन मार्फत् रेडियो र टिभीको एउटै संचालक समिति बनाउने रफ्तार तीव्र पारेका हुन् । टेलिभिजनमा वरिष्ठतम् पत्रकारहरूलाई समाचार च्यानलबाट अन्यत्र सरुवा गरी मिनेन्द्र रिजाल हुँदा नीर शाहलाई समेत निर्देशन दिने एक महिलासहितका ३ जनामार्फत् चरम दुरुपयोग भएको देख्दादेख्दै पनि दुवै संचारमन्त्री निरीह भएका थिए । टेलिभिजनमा सरकारको भन्दा भित्रको सोही समूहको स्वार्थको समाचार र कार्यक्रम प्रसारण गरी दुरुपयोग भएको तर स्पष्टीकरण सोध्न समेत नपाउने अन्तरिम आदेशका कारण मन्त्रीहरू संरचना परिवर्तनतर्फ लागेका हुन् । ऐनमा नै सिफारिस समितिले प्रक्रिया शुरु गरेको ३० दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने तोकिएकोले २०८१ मंसिर २५ भित्र पिएसबीको नयाँ संचालक समितिलाई पदभार ग्रहण गराउने रफ्तारमा काम भैरहेको छ ।

पछिल्लो समाचार अनुसार पिएसबीको अध्यक्ष बन्न शक्ति केन्द्र्रमा सेटिङ प्रयास, दौडधुप र पूजापाठको क्रम तीव्र पारेका कुराहरू पनि संचार मन्त्रालयमा चर्चामा छन् । रेडियोका यसअघिका प्रमुख बुद्धिबहादुर केसीले ज्योतिष परामर्श, पूजापाठ र पूर्वराष्ट्रपतिकोमा घरदैलो गर्ने काम सँगसँगै गरिरहेको चर्चा पनि छ । उनका प्रमुख धार्मिक सल्लाहकारमा ज्योतिषी गोरखाबाट काठमाडौंमा आई हाल चर्चित बनेका हरिप्रसाद सोडारी रहेको रेडियो नेपालका पत्रकारहरु बताउछन् । उनकै आज्ञा अनुसार बुद्धिबहादुरले अखण्ड यज्ञ गर्ने गरेका बताइन्छ ।

बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलका निकटस्थ भनिने कृष्णचन्द्र पौडेल रेडियोको दोस्रो प्रमुखबाट हालै अवकास पाएका व्यक्ति हुन् र उनी पनि पिएसबीको प्रमुख बन्ने प्रयासमा रहेको चर्चा छ ।

(साँघु साप्ताहिक, २०८१ मंसिर ३)

Nabintech