आइसिसी यू- १९ महिला विश्वकप टी-२० क्रिकेटमा नेपाल पहिलो खेलमा ५२ रनमै अल आउट भएको छ। मलेसियाको बांगीस्थि युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशविरूद्धको खेलमा ५२ रनमा अल आउट भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८।२ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटिएको हो। नेपालका लागि ओपनर साना प्रविनले बनाएको १६ रन सर्वाधिक रह्यो। उनले ३२ बल खेलिन्। त्यसपछि सिमाना केसीले १० रन बनाउनुबाहेक कसैले पनि दोहोर अंकमा स्कोर जोड्न सकेनन्।
सावित्री धामी १ रनमा, कप्तान पुजा महतो २ रनमा, सोनी पाख्रिन शून्यमा, किरण कुँवर १ रनमा, अलिशा यादव ४ रनमा, तिर्सना विश्वकर्मा ३ रनमा, अनु कडायत शून्यमा, रचना चौधरी ३ रनमा आउट हुँदा रिया शर्मा ५ रन बनाएर नट आउट रहिन्।
बलिङमा बंगलादेशकी जन्नतउल मौसाले २ विकेट लिइन्। निशिता अख्तर निशी, फहोमिदा चोया र अनिशा अख्तर सोबाले एक/ एक विकेट लिए। नेपाली महिला टिमले पहिलो पटक विश्वकप खेलेको हो। समूह डी मा रहेको नेपाललाई सुपर(६ मा पुग्न कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ। नेपालको समूहमा बंगलादेशसँगै स्कटल्याण्ड र अस्ट्रेलिया छन्।