काठमाडौं – गाजामा युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो । सो सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि केही घण्टा ढिलो युद्धविराम सम्झौता कार्यान्वयनमा आएको हो ।
यससँगै १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ । तीन चरणमा सम्पन्न गरिने भनिएको सम्झौताको पहिलो चरण आजबाट सुरु भएको हो । सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । सट्टामा इजरायलले १९ सय प्यालिस्टिनी बन्दी र कैदीहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ ।
उनीहरूलाई केही साताभित्र रिहाइ गरिनेछ । सूचीमा रहेका ३३ मध्ये तीन युद्धबन्दी आजै रिहा गरिने हमासले जनाएको छ । हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्यागरेसँगै युद्ध चर्किएको थियो । युद्धका क्रममा ४८ हजारभन्दा बढी प्यालिस्टिनीको ज्यान गइसकेको छ । युद्धविरामको पहिलो चरण ६ साताको हुने सम्झौतामा उल्लेख छ । यसअवधिमा हमासले बन्धक बनाएका इजरायली सैनिक, महिला, बाल– बालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जना रिहा गरिने भनिएको हो ।
इजरायलले पनि प्यालेस्टिनी बस्तीबाट सेना फिर्ता सुरु गर्ने तथा प्यालेस्टिनीलाई उत्तरी गाजास्थित घर फर्कन अनुमति दिइने र ती स्थानमा मानवीय सहायताका लागि हरेक दिन करिब ६ सय ट्रकलाई प्रवेश अनुमति दिने सम्झौतामा उल्लेख छ ।
दोस्रो चरणमा इजरायली सेना गाजाबाट पूर्णरूपमा फिर्ता हुने भनिएको छ । यस्तै, हमासले आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकलगायत थप बन्दी रिहा गर्ने सम्झौत छ । तर, त्यसअघि पहिलो चरणको युद्धविरामको समीक्षा हुनेछ ।
युद्धविरामको तेस्रो चरण भने गाजाको पुनर्निर्माणसँग बढी सम्बन्धित छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार यो चरणमा तीन देखि पाँच वर्षे पुनर्निर्माणको योजना कार्यान्वयन अघि बढ्ने छ । अन्तर्राष्ट्रिय समुदायको सहयोगमा गाजा पुनर्निर्माणको प्रक्रिया अघि बढ्नेछ । त्यसअघि हमासले बाँकी बन्धक र बन्दी अवस्थामै ज्यान गुमाएकाहरूको शव फिर्ता गर्ने छ ।
१५ महिने युद्धको क्रममा इजरायलको आक्रमणबाट गाजामा रहेका ६० प्रतिशत संरचना ध्वस्त भएका छन् भने २३ लाखभन्दा बढी विस्थापित भएका छन् । युद्धमा परेर मृत्यु भएका करिब ४८ हजारमध्ये १८ हजारभन्दा बढी बालबालिका छन् । युद्धका कारण एक लाखभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् ।