भारतको महाराष्ट्रस्थित जलगाउँमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको ज्यान गएको छ । दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ । जसमा तीन नेपाली छन् । दैनिक भास्करको रिपोर्टअनुसार ज्यान गुमाउनेमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् ।
बाँकी चार जना भारतीय हुन् । अरू मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरूको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको समाचारमा उल्लेख छ ।
गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए । त्यही समयमा अर्को रेलमा ठोक्किर पनि केही मानिसको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।