१९ माघ २०८१, शनिबार
साउदीमा सडक दुर्घटनामा परी ३ नेपालीसहित १५ आप्रवासी कामदारको मृत्यु

  • टाइम्स संवाददाता

  • १९ माघ २०८१, शनिबार १७:२२

अवुधावी – साउदी अरबमा भएको सडक दुर्घटनामा परी ३ नेपालीसहित १५ जना आप्रवासी कामदारको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजान आराम्को रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा तीन नेपाली श्रमिकको ज्यान गएको साउदी जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयले पुष्टि गरेको छ ।  गएको सोमबार भएको सडक दुर्घटनामा परी १५ जनाको ज्यान गएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना छन् । दुर्घटनामा मृत्यु हुनेमा तीन नेपालीका अतिरिक्त ९ भारतीय र तीन घानाका नागरिक छन् ।

२६ जना कामदार बोकेको भ्यान र ट्रेलर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको र उनको त्यहाँस्थित बाइस अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरू अरबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन ९एसीआईसी० कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा काम गर्ने श्रमिक हुन् । साउदी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार चालकको लापरबाही, सवारीसाधनको सुरक्षासम्बन्धी मापदण्ड र सडकको अवस्थामा अनुसन्धान भइरहेको छ ।

Nabintech