२२ माघ २०८१, मंगलवार
नेपाल टेलिकमको कार्य क्षमतामा सुधार आवश्यक छः सञ्चारमन्त्री गुरुङ

  • टाइम्स संवाददाता

  • २२ माघ २०८१, मंगलवार १८:२७

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको कार्य क्षमतामा सुधार आवश्यक भएको बताउनुभएको छ । सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘आम्दानीको क्षेत्रमा लाग्न सकेका छैनौं । टेलिकम भ्वाइस मात्रै नभएर डेटामा पनि लाग्नुपर्छ । नेपाल टेलिकमले कार्य क्षेत्र, सेवाको क्षेत्र विस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्छ । टेलिकमको क्षेत्रलाई अरुले उछिनेको छ । त्यसबारेमा टेलिकमको ध्यानाकर्षण हुनुपर्छ । कार्य क्षमताका हिसाबले उत्तरदायित्व हुन्छ । टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता छ ।’

त्यसैगरी सरकारी स्वामित्वमा रहेका कम्पनीमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको मन्त्री गुरुङले बताउनुभएको छ ।उहाँले सरकारले सार्वजनिक संस्थान सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरण जस्ता संस्थामा सर्वसाधारणको स्वामित्व २५ प्रतिशत पुर्‍याउने योजना सरकारको रहेको बताउनुभयो । उहाँले टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधारणको रहेको भन्दै अब कम्तीमा पनि २५ प्रतिशत सर्वसाधारणको शेयर पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारले विद्युत प्राधिकरणको पनि २५ प्रतिशत शेयर सर्वसाधारणको लागि दिने तयारी गरेको उल्लख गर्नुभयो । मन्त्री गुरुङले सरकारी कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधारणको स्वामित्व वृद्धि गरी जनताले आफ्नो पनि अपनत्व अनुभव गराउन स्वामित्व वृद्धि गर्नु आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

उहाँले संस्थामा जनताको निगरानी बढ्ने र व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदनशील भएर पारदर्शिता कायम गर्नुपर्ने सचेत गराउने बताउनुभयो । नेपाल टेलिकमले आम्दानीको क्षेत्र पहिचान गरी लाग्न आवश्यक रहेको उहाँको भनाइ छ । टेलिकम भ्वाइस मात्रै नभएर डेटामा पनि लाग्नुपर्ने समय आएको उहाँले प्रष्ट पार्नुभयो ।

नेपाल टेलिकमले कार्यक्षेत्र, सेवाको क्षेत्र विस्तारको साथै बदलिँदो क्षेत्रमा जान सक्नुपर्ने उहाँको भनाइ छ । मन्त्री गुरुङले टेलिकमले कार्य क्षमता बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । । उहाँले टेलिकम बदलिँदो अवस्थासँगै आधुनिक हुँदै जानुपर्नेमा जोड दिनुभयो ।

Nabintech