२६ माघ २०८१, शनिबार
सात प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री ओलीले भने ‘ अब ‘एक्सन’ मा जाने’

  • टाइम्स संवाददाता

  • २५ माघ २०८१, शुक्रबार २१:०२

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठक राखेर अब योजना कार्यान्वयनको एक्सनमा जान निर्देशन दिए। उनले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणको विषयमा छलफल गरेका थिए।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक भर्चुअल संवाद गरेका हुन्।

करिब साढे दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्ला एक्लै छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताए।  उनले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुट्दा थप छलफल गर्ने बताएका थिए। सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ‘एक्सन’ मा जाने उनले बताए।

उनले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रुमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको बताउँदै अब यो कक्षको उपयोग बढाउँदै लैजाने बताए।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण हुने अवस्था सुधार्न निर्देशन दिएका थिए।

उनले केही युवाहरूको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयहरूमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै यसमा ५७ हजार विद्यार्थीको सहभागी रहेको बताएका थिए।

आगामी वर्षदेखि यस प्रकारको तयारी गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रूपमा शिक्षालाई लिनुपर्नेमा जोड दिए। उनले डिजिटल नेपालतर्फ आफूहरू अघि बढेकाले स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गर्नुपर्ने बताएका थिए।

Nabintech