रूपन्देही – रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी रकम अपचलन प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि यो आदेश दिएको हो ।
जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले पछि ठहरेबमोजिम हुनेगरी सोमबार कारागार पठाइएको बताए । जोशीमाथि रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप छ । यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
जोशी गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष एवं सञ्चालक हुन् भने लामिछाने प्रबन्ध निर्देशक हुन् । यसअघि रुपन्देही अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो, जुन उनले बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । जोशीसँग यसअघि सूर्यदर्शन सहकारी र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा क्रमशः कास्की र काठमाडौं जिल्ला अदालतले धरौटी मागेको थियो, जुन उनले बुझाएका थिए ।
जोशीविरुद्ध साहारा चितवन सहकारीको रकम अपचलनको समेत मुद्दा छ । सहकारी ठगीकै मुद्दामा लामिछानेलाई कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र चितवनमा ५४ लाख धरौटी माग भएको थियो, जुन उनले सबै अदालतमा बुझाइसकेका छन् ।